आँखामा सप्तरङ्गी सपना बोक्दै
छातीमा अदम्य साहस समेटी
उर्लदो खहरे झैं वेगवान् भएर
भर्भराउँदो अग्निज्वाला बन्दै
युवा छन् आज रणमैदानमा
धृतराष्ट्रको पक्षपात सहँदै
दुर्योधनका महत्वाकाङ्क्षा छिचोल्दै
कुटिल शकुनीका चाल भोग्दै
कर्णको इख र अभिमान झेल्दै
लाचार भीष्म पितामहको आशिर्वाद बोक्दै
कृष्ण बिना नै निस्किएका छन् अर्जुन
नयाँ गाण्डिवको परिक्षण गर्दै
धृतराष्ट्रको अव्यवस्था बिरुद्ध
दुर्योधनको अहंकार बिरुद्ध
दुशासनको क्रुरता बिरुद्ध
सकुनीको कुटिलता विरुद्ध
भीष्म, द्रोण र विदुरको लाचारी विरुद्ध
पाण्डुपुत्रको अधिकार फर्काउन
द्रौपदीको स्वाभिमान जोगाउन
युधिष्ठिरको सत्यवादिताले सकेन
भीमको प्रतिज्ञा र बलले भ्याएन
त्यसैले त आज युद्ध नायक खोजिएको छ
अर्जुनको आँट र कौशल चाहिएको छ
जिउ धनको सुरक्षाको लागि
नारी अस्मिता रक्षाको लागि
अन्याय र अत्याचार विरुद्ध
पक्षपात र खेदो पाइलो बिरुद्ध
लड्नु छ एउटा अर्को महाभारत
जित्नु छ उही आफ्नै हस्तिनापुर
रच्नु छ एउटा नयाँ इतिहास
तोड्नु छ घिनलाग्दो फोहोरी परिवेश
बन्धुत्वमा विभाजन आएको बेला
सबैमा महत्वाकांक्षा छाएको बेला
कृष्ण बिनाको कुरुक्षेत्रमा
बिरोधिका कुटनीति नबुझेरै भएपनि
लड्नु छ एउटा अर्को महाभारत
तोड्नु छ शत्रुको दुर्भेद्य किल्ला
चक्रव्यूहको दुष्चक्रबाट
अभिमन्युहरुलाई जोगाउँदै
विजयको शंखनाद गर्नुछ अब
त्यसैले मलाई आज युवा बन्ने मन छ
धर्मयुद्धको लागि होइन
कर्मयुद्धको लागि होमिने मन छ
समयले फन्को मार्दा
शरिरले साथ नदिन सक्छ
शिथिल हुन सक्छन् पाइलाहरु
तर डग्न सक्दैनन् बुलन्द हौसलाहरु
म विचार र व्यबहारले तरुनो बन्न सक्छु
म लौरोको सहारामा हिँड्न पनि सक्छु
मैले चाहेमा कसैलाई नायक बनाउन सक्छु
कोही अमानवलाई नालायक बनाउन पनि सक्छु
हजुरबाले देखेका सुन्दर सपनाहरु
मेरा पिताले गरेका अनगिन्ती संघर्षहरु
मैले भोगेका अनेकौं कष्टको हिसाब गर्ने
म एउटा युवा अर्जुनको खोजीमा छु
कृष्ण बिना नै महाभारत लडोस्
रथ र सारथी बिना नै महायुद्ध जितोस्
म त्यस्तो धनुर्वीरको खोजीमा छु
साहसी युद्धवीरको प्रतीक्षामा छु ।
कोही त होला रणमैदानमा
मेरो सपनाको राजकुमार
मेरो लागि संघर्ष गर्ने
अन्याय अत्याचार विरुद्ध लड्ने
बेथिती र भ्रष्टाचार हटाउने
नातावाद कृपावाद छोडेर
सबैलाई मनमुटुमा अटाउने
मलाई एउटा प्रेमवीर चाहिएको छ
गफ गर्ने गफाडी होइन अब त
मलाई काम गर्ने कर्मवीर चाहिएको छ
त्यसैले मलाई एउटा अर्जुन चाहिएको छ
त्यसैले मलाई एउटा अर्जुन चाहिएको छ ।
कपन, काठमाडौं
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।