युवराज घलेभाइ

म हेरिरहेको छु रुखलाई
रुख टुक्रा – टुक्रामा बाँच्दैन

जबसम्म बाँच्छ
जीवनलाई सम्पूर्णतामा आफूमा समाहित
गरेर बाँच्छ

घाममा घाम खान पाए पुग्यो
पानीमा पानीसँग भिज्न पाए भयो
आफ्नो आकारभन्दा ठूलो छैन
उसको भोक
हावामा, हावासँगै हल्लिन्छ
जून आए, जूनसँगै रम्छ
नआए अँध्यारोसँगै खेल्छ

उसलाई जराभन्दा टाढाको केही भेट्नु छैन
जरा उखेलिएर आकाशमा उडेको कल्पना
गर्दैन रुख
जरा जति उभिने माटो पाए चाहिँदैन
उसलाई केही
हाँगा र पातभन्दा ज्यादा सपना
देख्दैन रुख
छर्दैन रहरहरुलाई आफ्नो सामर्थ्यभन्दा
टाढा पुग्नेगरी
बाँच्नुको दौडधुपबाट लखतरान
मन,मस्तिष्क र शरीर सबैतिर थकित
‘म’ थ्याच्च बसेर भुइँमा
जून उदाउँदो आकाशको पृष्ठभूमिमा
हेरिरहेछु रुखलाई ।

रुख उभिरहेछ निर्धक्क निष्फिक्री

गान्तोक सिक्किम