चण्डिका भट्टराई

थरीथरीका रङ्गीबिरङ्गी घरहरूले
सजिएको छ सहर आजभोलि
जताततै खुलेका बाटाहरुले
आकर्षित बनेका छन् सहरका हरेक गल्ली
बर्खामा हिलो अनि हिउँदमा धुलोले
सुसज्जित छन् सहरका बाटाहरू
देखिँदैनन् अचेल सहरमा
खाली ठाउँ अनि खाली पाटाहरू
ठाउँ ठाउँमा खुलेका चोक
अनि चोक चोकमा बजार
बजारभरी मानिसको ओइरो
यस्तै छ अचेल सहरको हालचाल
हरियालीलाई फिक्का ठान्छ सहरले
धुवाँ धुलोको बाक्लै तह राम्रो मान्छ
शान्त र एकान्त ठाउँ भेटिँदैन सहरमा अहिले
कोलाहल र भीडभाड नै प्यारो भाछ
खान लाउन दुःख छैन सहरमा
छ्याप छ्याप्ती खुलेका छन् पसल र स्टोरहरू
सुख सुविधाले सम्पन्न सहरी जिन्दगी
रम्दै हिँडछन् सहरका हरेक घुम्ती र मोडहरु
दिनमा त यसै सुन्दर यो सहर
चम्किन्छ रातमा पनि
दिनभरी नथाक्ने यो सहर निरन्तर अगाडि
लम्किन्छ रातमा पनि
प्राकृतिक सुन्दरता याद रहन्न सहरभित्र हराएपछि
शहरी सुन्दरताले मोहित बनाउँदोरहेछ
सहरी जीवनलाई मन पराएपछि
छनलाई त सुन्दर छ नि सहर
तर धुलो धुवाँको कुहिरोले ढाकेको छ
कहाली लाग्दो मानिसको भीडमा पनि
धन्न यो सहर मुस्काइराखेको छ
छोइसक्नु छैन सहरमा सामानहरू
तैपनि सबै बिकेकै छ
महङ्गिले आकाश छोइसक्यो
फेरि पनि सहरी जिन्दगी टिकेकै छ
ठाउँ ठाउँमा बिग्रिएका बाटाहरु
अनि थुप्रिएका फोहोरका डुङ्गुरले पनि
घटेको छैन सुन्दरता यो सहरको
हजारौं सपनाहरू बोकेका आँखाहरू
नियालिरहन्छन् व्यस्तता यो सहरको ।