विष्णु पाण्डे

तिमीलाई था छ
आज मलाइ सबैले चिन्छन्
हिजो सम्म म जन्मिएकै सहरमा अन्जान थिएँ
आज एकाएक सबैको नमस्कार खाएको छु
नाम अनुसार सम्बोधन र सम्बन्ध पाएको छु
हिजो सम्म टिम्किएको आजै भलाद्मीको तक्मा लाएको छु
असल सुपुत्र अनि सर्वगुण सपन्नको पगरी लाएको छु

यस्तै दिन देख्नलाई भएपनि
चुनाव सँधै आइदिए हुन्थ्यो
यत्तिकै सम्मान सँधै पाइदिए हुन्थ्यो
उमेर अनुसार दाइ भाइ नाता लाइदिए हुन्थ्यो

भोलि देखि
भोलि देखि फेरि अन्जान हुनु नै छ
कतै कुनै कुनामा बसी आज सम्झिएर रुनु नै छ
त्यसैले आजै देखि मौनता तोडौं
आऊ आफ्ना कुरा गरौं
नेता र निर्वाचनका कुरा छोडौं