सूर्यनारायण विक (शुभचिन्तक)

जनता हुन् कि नेता
आखिर दोषी को ?
भन्छन् हामीलाई के थाहा
आखिर दोषी को ?
घर घरमा सिंह दरबार आउँदा सम्म पनि
काम गर्ने स्वतन्त्रता पाउँदा सम्म पनि
न त जनताको दैनिकीमा परविर्तन आए
न त जनताले विकासको आभाष गर्न पाए

एजेण्डा र भिजनका कुरा नभएको बेला
पूरानै प्रतिबद्धता पूरा नभएको बेला
फेरि उनै पुरानै अनुहार दोहोरी रहेका छन्
फेरि उनैका पुराना सरकार दोहोरी रहेका छन्

निर्वाचनको संघारमा आश्वासनका भाषण
५ दिन नमस्कार गरेर ५ वर्ष शासन
५० रुपैयाँ कर तिर्न ५ सय रुपैयाँ खर्च
अब त आश मरिसक्यो कसले विकास गर्छ

एकछिन सोच्छु टाउकोमा हात राखेर
अनि स्मरण गर्छु आफ्नै विगतलाई
खुट्टा ढोग्दै एक हजार भेटी चढाएकै भरमा
भोट दिएकै परिणाम भोगिरहेको छु

५ वर्षको भोगाइले मन जलाएको छ अब
अलिकति उज्यालो आउने आश पलाएको छ

गल्ती मेरो पनि थियो तिम्रो पनि
अब सच्चिनु छ एकजुट बनि
दिनु छैन कसैलाई प्रलोभनमा भोट
नत्र फेरि खानुपर्छ चोटै चोट

अब विगतमै लागेको घाउमा
नुन छर्नेलाई हैन
मल्हम पट्टी गर्नैलाई छानौ
नातावाद र कृपावादलाई हैन
विकासवाद र समाजवादलाई मानौ

पदका लागि बिचार बदल्नेहरूसँग होसियार
एकनासले सँधै नचल्नेहरूसँग होसियार
तब मात्र खुल्न सक्छ हाम्रो तेस्रो आँखा
अनि सबैले गाउनुपर्छ परिवर्तनका भाका
नदेखेर खोट, हेरी कालो कोट
यदि फेरि पनि हामीले बेच्यौ भने भोट

न आउँछ किरण न त छाउँछ उज्यालो
न त हुन्छ विकास न आउँछ परिवर्तन
त्यसैले प्रण गरौ
अलिकति भएपनि उज्यालो ल्याउन
आजैबाट र आफैबाट शुरुवात गरौँ ।