सुमन वर्षा

कुनै ठूलो सपना थिएन उसको
कुनै विशाल आकांक्षा थिएन

अलिकति तातो घाम ताप्न
अलिकति शितल छहारीमा बस्न
बोकेको थियो नाइलभन्दा लामो नाम्लो…

ठेला उठेका हातहरूले
पटक-पटक हालेको थियो भोट
पैंतालाले टेकेर तातो-घाम
छानेको थियो समृध्दि फुलाउने शासकहरू

तर यतिबेला
समय !
चूपचाप साक्षी बनिरहेको छ
एउटा कुरूप युगको
टाढ़ासम्म हेरिरहेछ
खिल्ली उडिरहेको
देश सुशासनको

सुनिरहेको छ
सूर्यबहादुर तामाङको लाशलाई
रूङ्गिरहेको एक जोडी परेवाले

भाषणका आदिम श्रृङ्खलामा
फगत भेटिइरहने
व्यवहारतः कहिल्यै नमेटिने भोकसँगै

भाषणमा जहिल्यै नथाक्ने पूर्णता
व्यवहारत: सधैं छालामा टाँसिने अभाव

यतिबेला ऊ गरिबीको भव्य-रथमा चढेर
मजदुर दिवसको नारालाई
चुपचाप सम्झिरहेको होला

आर्यघाटसम्मको यात्रा तय गर्न
एउटा महाजुलुसको पर्खाईमा होला
बन्द गरेर दुवै  आँखाहरू

बन्द भएका उसका आँखाहरूमा
बन्द भएका छन् सबै सपनाहरू
भाँच्चिएका छन् समृद्धिका शाब्दिक आश्वासन
भाँच्चिएका उसका आकांक्षा जस्तै…

मानवतालाई गिज्याउँदै ढलेको एउटा सिङ्गो सभ्यताले चिच्याई चिच्याई भनिरहेको छ
बन्द गर यी मृत्युका कारखानाहरू
बन्द गर खोक्रा भाषणहरू
नबाँढ झूठा सपनाहरू

बन्द गर राज-नीति गर्नका लागि गरिएको राजनीति

उत्पीडनको भारले कुप्रिएका
ढाडहरूमा चडेर
ठेला उठेका उसका हातहरुले आफ्नो भाग्य कोरेर
राजनीति गर्ने तिनै शासकहरू
यतिबेला थकान मेट्न
रोस्ट र ह्विस्कीसँगै
आफैंले विवश पारिएका ती थुप्रै थुप्रै  सूर्यबहादुर तामाङहरुलाई
टिभीको स्क्रिनमा देखेर
मुस्कुराई रहेका होलान् –

तर,
उसको ठेलाम्य हत्केलाले बताइरहेछ अझै
बाँच्ने सम्भावना जिउँदो राख्नलाई ऊ थाकेको थिएन
गन्तव्यको खोजीमा चलायमान् पाइला
अविराम हिँड़िरहेका थिए
भोकको साम्राज्यविरुद्द युध्द जित्न
राज्यलाई गरिबीको रेखाबाट माथि उठाउन
समृध्द नेपालको सपनालाई साकार पार्न!

विवशता !
विकृति ओढ्दै गरेको बेतुकको राष्ट्रियतालाई श्रध्दाञ्जली दिँदै
स्वतन्त्र भएका छन्
उसका ठेला उठेका हातहरू र
वज्र बनाइएका मुटुहरू!!

हार्दिक श्रध्दाञ्जली सूर्यबहादुर तामाङ !!!