
कवि परिचय
कवि केशरी चित्तधर हृदय (ई. १९०६ — १९८२) नेपालभाषाका मूर्धन्य कवि हुन् । उनले छोटा कथा, कवितादेखि महाकाव्यसम्म लेखेका छन् । उनको सुगत सौरभ महाकाव्यको अंग्रेजी अनुवादलाई २०११मा युनिभर्सिटी अफ क्यालिफोर्नियाले पुरस्कृत गरेको थियो । हृदयका तेत्तीसवटा कृतिहरू नेपालभाषामा प्रकाशित छन् ।
सुगत सौरभ महाकाव्यको नेपाली अनुवाद चित्तरञ्जन नेपाली (नारायणप्रसाद राजभण्डारी) ले गरेका छन् । आसन्न बुद्ध जयन्तिको अवसरमा सोही महाकाव्यको सिद्धार्थ गौतमको जन्मको वणर्न गरिएको अंश प्रस्तुत छ ।
जन्म

चित्तधर हृदय
राखी दिनकर गर्भाशयमा उषा उदाइन् मुसुमुसु हाँसी
दूर ग्राममा भाले बास्यो समय निरूपण गर्न लागि ।
पलपल धमिलो बन्दैछ शशी पूर्व दिशा तर उज्ज्वल क्रमशः
निश्चय पनि अब अरुण उदाउँछ प्रभातको त्यो सुन्दर तनय ।
बाहिर चिरबिर स्वर खगहरूको भित्र छ हलचल ललनाहरूको
बज्छ कर्छुली टिन्न यतातिर बल्छ उतातिर दनदन आगो ।
पत्रपुष्पले झ्याम्म भएको तरु पर्कटिमनि रानी पुग्छिन्
टप्प समाती हाँगा यौटा त्यहीं अचानक ठिङ्ग उभिन्छिन् ।
दासीहरू सब आतुरताले यताउतितिर दौडिन थाल्छन्
भयले आतुर हरिण बथान घुम्छन् जसरी वनमा फनफन् ।
पूर्व गगनमा अरुण उदायो शाक्य गगनमा नूतन बाल
उद्घोष गरे विहगहरूले उड्दै नभमा शुभ सम्चार ।
उद्घोष सुनी मारुत आयो हेर्न भनीकन बँहदै हर्र
तरुबाट झरे पुष्प र पल्लव झरझर झरझर अगणित हेर ।
पुष्प वृष्टिझैं देखिन्छ अहा ! झर्दा झरझर सुरभित सुमन
यै कारणले ‘पुष्प पूर्णिमा’* रहन गयो यस दिनको नाम ।
(*वैशाख पूर्णिमालाई नेपालभाषामा ‘स्वांयाः पुन्ही’ भनिन्छ, जसको अर्थ हो ‘पुष्पयात्राको पूर्णिमा’ । सिद्धार्थ गौतमको जन्मको समय आकाशबाट पुष्पवृष्टि भएकोले वैशाख पूर्णिमालाई ‘स्वांयाः पुन्ही’ भनिएको हो ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

