छन्द : शार्दूलविक्रीडित
हाम्रो तागत विश्व मान्छ पहिलो भन्नेहरू छन् यहाँ
थाहा हुन्न जिते भने कपटले भाग्नेछ थुप्रो कहाँ ?
पुर्खाको गफ दिन्छ आज जनता सुन्दैन आक्रन्दन
हत्यारो अति तुच्छ उठ्छ अहिले के सोच्नु निर्वाचन ।।
१
पार्टी तागत हो अझै टिकट हो हत्या बलात्कारको
चोट मान्नु सुधार छोड्नु अहिले हो अन्त्य संस्कारको ।
लोभी शासक बन्न सक्छ कसरी बाँडेर आश्वासन
उठ्छन् आज विकास बाधक यहाँ यो हैन निर्वाचन ।।
२
ती सारा अगुवा म मान्छु हगुवा चर्पी मनोमान छ
सुन्दैनन् जननी दुखी सहरको देख्दा दुई कान छ ।
छैनन् राम नरेश शासक सरी के गर्नु लौ अर्चन
उठ्ने चोर गधा र आज ठग छन् के मान्नु निर्वाचन ।।
३
विद्यार्थी पनि राजनीति जहिले कक्षा हुँदा गर्दछन्
नाम्ले, पण्डित , बाल , दारु पसले त्यो जालमा पर्दछन् ।
गुण्डा नायक भ्रष्टाचार लतका पार्छन् सदा कम्पन
भेडा शक्ति लिएर साथ अहिले के गर्नु निर्वाचन ।।
४
सत्ता शक्ति धनी भएर जनता लुछ्ने र चुस्ने बढे
नेपाली जनता चिरेर गतिलो कुर्सी र गाडी चढे ।
भेडा हुन् जनता भनेर कसरी गर्दै छ यो अर्चन्
पैसामा किनबेच हुन्छ पद ती के भन्नु निर्वाचन ।।
ठेगाना :- लेटाङ न.पा. – २ मोरङ्ग ( हाल धरान पिण्डेश्वर संस्कृत विद्यापीठ )
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।