तराजुमा जोख्न राखिएको
भ्यागुतो जस्तो
कहिले पुग्दैन
हाम्रो राष्ट्रवादको धार्नी ।
बगाउन त बगाउँछौ
नसा नसामा
रगतसँगै बारुद पनि
तर मरिकाटे बल्दै बल्दैन
कसैले नझोसी
छातीमा तातो फलामे तिरहरू
जब च्वास्स दुख्छ
अलि पोले जस्तो हुन्छ
बल्ल उर्लिन्छ राष्ट्रवाद
र इन्द्रेणी भएर
पोखिन्छाँै सडकमा
यस्तो लाग्छ
अब फेरि एउटा
प्रलयकारी परिवर्तन नजिक छ
तर फगत यो
समुन्द्रमा आएका
उत्ताउला कच्चा छालहरू जस्तै
एकैछिन आएर
उही समुद्रमा फर्केर हराउँछ
उम्लिएकै हो रगत पटक पटक
मेची, सुस्ता, कालापानी र लिम्पियाधुरामा
महाकालीमा पनि हो उम्लिएकै हो
१९५० को सन्धि लिएर पनि
बेला बेला उम्लिरहन्छ रगत
नाकाबन्दीमा उधुमै उम्लिएको हो
उम्लिरहेकै हुन्छ रगत बारबार सिमाना सर्दा
र पुर्खाहरूको स्मरण गर्दै
खुकुरी देखाएर धम्काउदै
वीर भएको प्रमाणित गर्छौँ
मानौ अब यो धर्तीमा
एउटा ज्वालामुखी निर्माण हुँदैछ
र विष्फोटन भएर त्यसका लाभाहरू
कुईरीमण्डल वातारण बनाउँदै बग्नेछ
तर त्यो प्रचण्ड ताप
नांगा डाँडाको टुप्पोमा फुस्फुसाएको
पातला हिउँ जस्तै
भोलिपल्टको घामसंगै हराउँछ
त्यसपछि सबथोक जहाँ छ त्यही अडिन्छ
महाकाली जहीको तही हुन्छ
कालापानी त्यही उभिन्छ
१९५० को सन्धि फेरि बिर्सिन्छ
सिमाना सरेर मूलढोका आइपुग्छ ।
त्यसपछि
रातदिन फत्पताउँछौ मात्र
देश लुटे !
गद्दार निस्किए !
शासक भए !
आत्मसमर्पण गरे !
देश बेचे !
र फेरि चुनाव आउँछ
उसैलाई छाप लगाउँछौ
र एउटा युद्ध जितेसरी
ढक्क छाती फुलाउँछौ
दोस्रो दिनदेखि फेरी
सराप्न थाल्छौ उल्टै
आफ्नै हातहरूलाई दोषी देखेर
हाम्रो अजिव बानी
र रगत देखेपछी
उस्तै लाग्छ
तुलोमा कहिले धार्नी नपुग्ने
भ्यागुतो र हाम्रो राष्ट्रवाद ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।