कविताः गुरु आज्ञा
फेरि पनि एकलव्य
द्रोणाचार्यको प्रतिमा अघि
थप अभ्यासमा व्यस्त देखिन्थ्यो
जब अभ्यास पूर्ण भयो
त्यसबेला झैं, यसपालि
ऊ द्रोणाचार्यको नजिकै परेन
उसले बुझिसकेको थियो
त्यसबेला हातको औंला मागे जस्तै
कुनैदिन गुरु दक्षिणा स्वरूप
उसको शिर पनि मागिन सक्थ्यो
धनुर्विद्यामा जब उ पारङ्गत भयो


उसले शब्दभेदी वाण प्रहार गर्न
कत्ति पनि ढिला गरेन
त्यो शब्दभेदी वाण
अर्जुनहरुको मर्मस्थलसम्म पुग्यो
जब ती घाइते भए
एकलव्यलाई घेरामा पारियो
खै किन हो द्रोणाचार्य मौन देखिए
यसपटकको गुरु दक्षिणा
गुरुले नभइ अर्जुनहरूले माग गरे
त्यो पनि औंला होइन
मनको शंका जस्तै
उसको औंला होइन मनोभाव मागियो
अर्जुनहरु मनोभाव माग्दै थिए
द्रोणाचार्यबाट आज्ञा भयो
गरि खान दिनु
यसपटक लाई माफी भयो
किनकी
एकलव्यहरुले पटकपटक
हातका औंलाहरू चढाइ सकेका छन्
धेरै रगत बगाइ सकेका छन्
एकलव्यका औंलाहरू जुटाएर
न अङ्गुलिमाल बनिन्छ ?
न अब
रगतको होली खेल्न सकिन्छ !
गुरु आज्ञा पश्चात
धनुकाँड बोकेका अर्जुनहरु
आ-आफ्नो बाटो लागे ।
कालिका ६ चितवन ।