अचेल म ! यो सोचिरहेको छु
किन कविता लेखिरहेको छु ?
के का लागि लेखिरहेको छु ?
कसका लागि लेखिरहेको छु ?
नबुझी लेखिरहेको छु कि ?
बुझेर लेखिरहेको छु
तर पनि लेखिरहेको छु
बाह्रखरीसंँग काँचो दुश्मनी मोलेर
आकार ईकार मिलाई नमिलाई
डाडा भाटा भेल्सी ठडाइरहन्छु
पुतली पाखामा बतासे बन्धन बाँधेर
शिरमा शिरबिन्दु, चन्द्रबिन्दु राखेर
पाउमा पाउपोष उकार लागाइदिन्छु
अनि बोलाउँछु, सक्दो बोलाउँछु
तर पनि बोल्दैन मेरो कविता
सायद मस्तिष्क नभएर होला
चेतना शून्य भइरहन्छ
केही बोल्दै नबोले पनि
लेखिरहन्छु
कर्कर्ती बोलाइरहन्छु
स्वर व्यञ्जनको साँघुरो गल्लीमा
ह्रस्व दीर्घहरूको घाटी निमोठेर
कति अर्थ, अनेकार्थ पारिदिन्छु
बोल्न खोज्नेहरू पनि अर्कै बोल्छन्
नबोल्नेहरू झन् चिच्याउदै बोल्छन्
बिना अर्थका प्रत्येक पंक्तिहरू
हरफ हरफ भएर पाना मैलो पार्छन्
शब्दको चाङ मात्रै थुपारिरहन्छु
डोकोबाट मल भारी थुपारे जस्तै
न कुनै अर्थ दिन्छ त्यसले
जसले जस्तो अर्थ दिनु पर्ने हो
गाई लेख्दा गोरू ड्वाँ गर्छ
कोइली लेख्दा काग काग काग गर्छ
सायद म यस्तै यस्तै कविता लेखिरहेछु
हिज्जेहरूको घुँडा भाँचेर
शब्द शब्दमा काम्रो बाँधिरहेको छु
शल्यक्रिया कक्षमा बेहोसीको सुइ हालेर
झन बेहोस बनाइरहेको छु
म आज किन अराजक भइरहेको छु
कविता भन्दै भाषण लेखिरहेको छु
साँढेहरू आपसमा सिंगौरी खेले जस्तै
कतै सिङ भाँचेर, कतै आँखा फोडेर
रक्तामे पारिरहेको छु, मुटु कलेजो
कवि हुने वहानामा अहंकार ओकलेर
म ! अ कवि
कविको ट्याग झुण्ड्याउन हतारमा छु
सेण्डिगेट साहित्यमा छेपाराहरू बटुलेर
सस्तो लोकप्रियताको खातिर
होर्डिङ बोर्डको अर्धनग्न विज्ञापन जस्तै
कवि हुने लहडमा झुण्डिन आतुर छु
कपि पेस्टको, यो जमानामा
सबै देवकोटा, भूपी बन्न खोज्छन्
जर्ज बनार्डशा, ह्यामलेट बन्न खोज्छन्
म पनि सायद त्यस्तै उस्तै हुँला
होर्डिङ बोर्डको अर्धनग्न विज्ञापन ।।