असंख्य तरङ्ग साथ
सुनसान रात
भाग्य छाम्दै गरेको
टाउको माथिको हात

एक्कासि
आर्यघाटको
शङ्खको धुन
हावाको बुइ चढेर
कोठाभित्र पस्छ

गम्भीर दुवाडी

आयु घटाउने
त्यो घडी
यमराजको निम्तोको प्रतीक्षामा
अनिँदो भई बस्छ
आँखा झिमिक्क हुनै लाग्दा
आग्नेयकोणमा उल्का खस्छ
भयको छुराले
मुटु धस्छ

जब सत्यको
मुख थुनिन्छ
तब असत्यले
ठाउँ पाउँछ ।

करेसामा खस्याकखुसुक
आवाज आउँछ
कान त्यतै धाउँछ

‘ ए !
भुइँमान्छे बा
हामी क्या हामी
बत्ती मुनिको अँध्यारोमा
मौका छोप्ने
हामी चोरलाई पनि चोर्ने
महाचोर हौँ
खबरदार !
हाम्रो सुइँको कसैलाई नदिनु
चुपचाप होउ बुढा
ओठ कमाउँदै
गुहार माग्ने कष्ट
हल्ला खल्ला नगर
हामी जे गर्छौं
माथिकै इशारामा
निर्बाध गर्छौं
तिमी
कि फ्वाँ फ्वाँ गरेर सुत
कि ट्वाँ पर्दै
टुलुटुलु हेरेर बस

बाँकी …
मतगणनाको
परिणाम पछि
ताकि
यो मौन अवधि हो..’

गजुरी-५धादिङ्ग
२७/०१/२०७९