यशोदा गैरे

प्रेमको शिखा
रहरका फूलहरू छातीमा रोपेर
मुस्कुराउन चाहन्छ एउटा
वसन्ती जोडी
पालुवाको मुनि बसेर
सुनाउनु छ सुदूरको मुटुलाई
एउटा सुनाउन बाँकी
लैला मज्नुको आदिम कहानी
दिलबाट निकाल्न नसकिने कुनै प्रेमिको चित्र जस्तै
गढेर बसेको छ पिरतीको मुलायाम काँडा
रहस्यको खोलेर पर्दा थाहा पाउनु छ
युगौदेखि किन गुम्सिए तिर्सना
एकपटक गरेर बुद्ध जस्तै ध्यान
निकाल्नु छ प्रेमवाणी
वेदका प्रत्येक हरफ जस्ता
महत्वपूर्ण बनाउनु छ जीवनका हरेक पल
पाहुना जस्तै आउने जाने सुख दुःखभन्दा
फेरिरहने सास जस्तै
जीवन्त बनाउनु छ टुक्रिएर
बचेको सिसा जस्तै जिन्दगी
आँखा आँखाको भाषा पढेर
लेख्नुपर्ने सगरमाथा जस्तो पानामा
नसालु कविता
परेवा जस्तै उडेर गगनमा
सजाउनु छ एउटा रंगिन सपना
नारायणीको पानी जस्तै
बनाउनु छ एकपटक
खहरेजस्तो प्रेमको सभ्यता
ओ मेरो दिल चोरिजाने मुसाफिर !
प्रेमको शिखा किन लगिदियौ
मुटुको देब्रे कुनामा राखेर ।

 

घर बुटवल तर करिब चार बर्ष देखि मनाङ जिल्लामा शिक्षक पेशामा आबद्ध रहेकी छु।