आफ्नै आत्मालाई सोध
गाउँ बेंसी खोंचमा खोज
तिम्रो न्वारान गर्ने पँधेरो
उज्यालो छ कि अँध्यारो ?
‘कुला माथि खेत
धान फल्दै फल्दैन
भोको रह्यो पेट’
टनक्क पटुका कसेर
खेतबारीको डिलमा बसेर
नजर क्षितिज सम्म धसेर
नदीको साँखर माथि
घैला बोकेका ताँती
त्यस्तै यस्तै
त्यतै यतै
कहिले सम्म गीत गाउने साथी !
खेती मनसुनमा
जागिर भनसुनमा
मनसुन र भनसुन
लुकामारीको विकल्प छैन साथी !
‘बाबा बाबा !
अब
हाम्रो गाउँमा
रेल आउँछ रे
पानी जहाज चल्छ रे
घर घरै सहकारी हुन्छ रे
यहीँबाटै चन्द्र छुइन्छ रे
अनि के के हो के के …!’
तिमी चुनावी दौडाहामा
जनता क्रन्दनको औडाहामा
जे होस्
पुनः
मेरो घर गोठ धाउने
गोरेटो पल्याएछौ
सानै छोराको हातमै भने पनि
तिम्रो पार्टीको चुनाव चिन्ह
लगायत पर्चाहरू थमाएछौ
घरदैलोमा छोडेको घोषणापत्रमा
मरुभूमिमा उद्यान झुलिराछ
विकास तीब्र गतिमा डुलिराछ
हरफै पिच्छे नयाँ र ठूला सपना छ
तर
मलाई ठूलाठूला आश्वासन
चिप्लो चाप्ला भासण
महलको आरामदायी आसन
भन्दा
बिहानै मुख धुने
पानी आउने धारा पाइयोस्
बाँझो बारी
सन्तान पारी
देख्न नपरोस्
गर्मीमा शीतल बस्ने चौतारी
जाडोमा घामको पार
ताप्ने पार्क पाइयोस्
बाटो घाटोमा
तिर्खाएको बटुवाले
निःशुल्क पानी पाएको
सर्वसाधारणले सर्वसुलभ
शिक्षा स्वास्थ्य रोजगार पाएको
तिम्रो चुनावी मान चित्र सँगै
अन्य पढ्न बुझ्न ठावैँ पिच्छे
पुस्तकालय उम्रेको देख्न पाइयोस्
हुनेखानेको सरामा
हुँदा खानेलाई नदाँजियोस्
बाजेका पालाको पाटीबाट
केहि अवश्य सिकियोस्
धनीका निम्ति मात्रै भएर भएन
गरीबका निम्ति पनि शहर बनाइयोस्
गाई मारेर गधा पोस्ने
भाइ भाइको टाउको ठोक्ने
आफ्नै घरमा आगो झोस्ने
शिक्षाको उपेक्षा
राजनीतिको अपेक्षा
झोलामा गुटबन्दी
पोकाहरू बोक्ने
कवै नबनाइयोस्
अनि
सबल र निर्बल निर्बाध हिँड्न मिल्ने
बाहिरी हावा निल्न मिल्ने बनाइयोस्
फोहोरलाई मोहरमा वर्गीकरण होस्
गाउँ आयो कि गनायो
गनायो कि गाउँ आयो
ठ्याक्कै उल्टो
तिम्रो विश्व अटाउने नजर अघि
सहर आयो कि गनायो
गनायो कि सहर आयो
नाक थुन्दै हिँड्न नपरोस्
पहिल्यै जस्तो यो पाला पनि
तिम्रो विकासमा विनाश नहोस्
लटरम्म फलेका वृक्ष ढलाएर
अक्सिजनका सिलिन्डर
वन मासेर पंखा नभित्र्याइयोस्
तिम्रा मथिङ्गल भरि
सद्बुद्धि फिरोस्
यो पटक
तिम्रो घैँटोका पीँधैसम्म
घाम झलमल्ल लागोस्
जिउँदा जन्ती
र
मर्दा मलामी
जित सुनिश्चित होस्
तिमीलाई अग्रिम
बधाई तथा शुभकामना
हृदयमै पुगोस्
गम्भीर दुवाडी
गजुरी-५धादिङ्ग
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।