देशकै प्रमुख भइसकेकालाई पनि
काठमाडौंको प्रमुख बन्ने रहर हुन्छ
शायद काठमाडौं नेपालभन्दा ठूलो छ
नेपालभन्दा भव्य छ
नेपालभन्दा महान छ
नेपालभन्दा लोभलाग्दो छ

काठमाडौं विनम्र छ
उसलाई महान् बन्नु छैन
उसलाई त मात्र काठमाडौं बन्नु छ
काठमाडौंलाई छातीभरि
काठमाडौं नभइएला भन्ने पीर छ

आर. मानन्धर

काठमाडौं बाहिरका शासकहरुले भने
काठमाडौंलाई महान् बनाइदिन्छन्
ती काठमाडौंलाई नै
नेपाल भन्छन्
ती काठमाडौंलाई नै
नेपाल देख्छन्
अनि काठमाडौं अन्यमनस्क
महान् हुन विवश हुन्छ

काठमाडौं देखेर
हिजो गोर्खाका शासक मोहित भए
अर्घाखाँचीका कुँवरहरू लट्ठिए
आज गोरखाका नेताले र्याल चुहाइरहेका छन्
बदामजस्तै माकुसे माकुसे
अन्त कतै नपाउने
काठमाडौंको स्वाद सम्झिँदै

गोरखाका शासकलाई थाहा थियो
काठमाडौं नजितीकन नेपाल जितेको सार्थक हुँदैन
गोर्खाका बाबुराम बुझ्छन्
काठमाडौं रजाईं नगरी
शासक बन्नुको अभीष्ट पूरा हुँदैन

बाबुरामले बुझेका छन्
नेपालमाथि साँच्चै शासन गर्ने हो भने
काठमाडौं नै जित्नु पर्छ
काठमाडौं नै खानु पर्छ
काठमाडौं चपाउनु पर्छ
काठमाडौं नै पचाउनु पर्छ

काठमाडौं खान सके
अरु खाइरहनै पर्दैन
काठमाडौंलाई नहराईकन
नेपालका मानिसलाई एकलौटी शासन गर्न सकिँदैन

काठमाडौं नजितीकन
काठमाडौंलाई ध्वस्त नबनाइकन
काठमाडौंका मान्छेलाई बिल्लीबाठ नपारीकन
काठमाडौंलाई छिन्नभिन्न बनाउन नसकेसम्म
विजय अभियान नै कहाँ पूरा हुन्छ र ?

साँच्चिकै विद्वान हुन्
हाम्रा बाबुराम !

 

कवि परिचय

आर. मानन्धर (ई. १९६६) विशेषतः दर्शनलाई विषयवस्तु बनाएर लेख्ने कविको रूपमा परिचित छन् । यदाकदा उनी सामाजिक विषयवस्तुमा पनि लेख्छन् ।
उनका पुस्तकहरू नेपालभाषामा ‘कुलांया थिया’, नेपालीमा ‘क्षितिजको स्पर्श’ र ‘कवितामा आकाश’ प्रकाशित छन् । साथै, उनी अंग्रेजी पुस्तक ‘कन्सियस लीडरशिप अ जर्नी विथइन’ का लेखक पनि हुन् ।

उनी ‘द हिमालयन टाइम्स’ अङ्ग्रेजी दैनिकमा लामो समयसम्म स्तम्भकार रहिसकेका छन् । नेपाली तथा अङ्ग्रेजीमा उत्तिकै कलम चलाए तापनि उनी मुख्यतः नेपालभाषाका लेखक हुन् ।