टंक सिटौल

मेरा बाको हात गोडामा काँटी ठोक्नेलाई
भोट कसरी हालुँ
भन्देऊ कसैले आफ्नो ज्यानलाई
आफै कसरी मारुँ
सत्ता हत्याउने चलखेलमा हत्यारा सँग तालमेल
दुश्मनलाई अँगालो हाली मित्र रुवाउने खेल
कति तल गिरे दलहरू सत्ता हत्याउने खेलमा
फटाहा हरूको बिगबिगी भयो कार्यकर्ता चै जेलमा
नीति बिर्से आदर्श छोडे सत्ताको लागि सम्बन्ध तोडे
मूल्य र मान्यता हत्या गरेर कुकर्मीहरूको डेरा सरे
मेरा दलका नेताहरू हो
जनता माथि यो कस्तो नाइन्साफ गर्यौ
कस्तो पापिष्ट सँग साँठगाँठ गर्यौ
मेरा बाको हात गोडामा काँटी ठोक्नेलाइ भोट कसरी हालुँ

हरे मेरा दाजुको हात गोडा भाच्नेलाई
मेरा भाइको जीवन बर्बाद पार्नेलाई
भोट कसरी हाल्नु
मेरा काकाको सम्पत्ति लुट्नेलाई
मेरा आफन्तलाई गाउँ निकाला गर्नेलाई
भोट कसरी हाल्नु
मेरा खेतको बाली लुट्नेलाई
देशमा जघन्यता मच्चाउनेलाई
भोट कसरी हाल्नु
मेरी दिदी विधवा भै धेरै बर्ष घात गरी रोई
मेरी फुपूको सिन्दुर पुछियो
खुसीहरू भनौ सर्बश्व लुटियो
मेरी बैनीको पढाइ रोकियो
ठूली मान्छे बन्ने आशै सकियो
मेरा दलका नेताहरू हो
सबै कुराको मलाइ जवाफ देऊ
यो अनैतिक गठबन्धनलाई
भोट कसरी हाल्नु
मेरा बाको हात गोडामा काँटी ठोक्नेलाइ भोट कसरी हालुँ ?

 

भोलाझार, आसाम, भारत