आशिक छेत्री (दार्जीलिङ)

मई दिवसको अघिल्लो दिन
दासत्वको
शोषणको
अन्तिम दिन कसरी मान्ने
एउटा गणतन्त्र देशको
कुनै कुनामा
एउटा स्वतन्त्र श्रमिक
लाचार छ
चार हप्ता बिती सक्यो
न खर्चा न तलब
आफ्नो पसिनाको मोल
पनि हराए जस्तो
मई दिवसमा लेखिने, गाइने
‘फेरी अर्को कविता’ होइन यो
यो त आजको
चिया कमानेको व्यथा हो
भो ,
छोडिदिनुहोस् न्यूनतम मजदूरीको कुरा
कागजी कुरा
हामीले
भोलिको घाम पनि
आज जस्तै तेज नै खप्नुपर्ने छ
हामीलाई
शितल हावाहरुको पनि आज जस्तै
अभाव, अभाव नै रहनेछ
हाम्रो
निधार फुटेर निस्किएको पसिनाले
चार हप्ता त कुर्नै पर्छ
आफ्नो मोल बुझ्न
भोलि मई दिवसको दिन
तिमी फेरी
हाम्रो निधारको भाग्य कोर्ने कुरा नगर्नु
सूर्य छोप्ने कुरा नगर्नु
हावाको दिशा मोड्ने कुरा नगर्नु
हाम्रो लागी
हिजो जस्तै छ आज
अघिल्लो दिन
पछिल्लो दिन
मई दिवसको दिन ।