जनार्दन रिजाल

अचेल बजारमा चिनेका अनुहारहरु
ब्यवहार बुझिएका मुहारहरु
परिवर्तित रुपका साथ छ्यापछ्यापती
चिन्ता बढेको छ
विरासत धान्ने भत्काउने
शंकाले सताएको छ
समयको सदुपयोग हुने नहुने

अब बेला आएको छ
मुटु कलेजो आन्द्राभुँडी छाम्ने
कम विकास
बढि ब्यक्तिगत लाभमा
बिताएका १८२५ दिनहरु
योजना परिवर्तन गर्न
कम उपलब्धिलाई
थ्रीडिमा रुपान्तरण गर्ने प्रयासस्वरुप
गाउँगाउँ बस्ती बस्तीमा
सलबलाउने कसरतमा
नगर गाउँ केन्द्रमा जाल बुन्दैछन्
बिकास नामको बैसाखी बोकेर
विकास लिला भजाउन
चाँडै नै
बक्सा बोकाएर
बस्ती गाउँ पठाउँदैछन्
रात विरात हिसाब गर्न
छेपारे मानव बसेका छन्
मानव मूकदर्शक छ
किनकी जालझेल जान्दैन
उसलाई फुर्सद नै छैन
साँझ बिहानको गर्जो टार्दैमा
ऊ सँग रंग फेर्ने समय छैन
थिचिएको छ बिहान बेलुकाले
घर दैलोमा कमाई खाने
उपाय कसैले दिदैन
दिन्छ त केवल आश्वासन र चिप्ला बोली ।

जनार्दन रिजाल
                               ललितपुर १३