साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मृत्युको चेहेरा

चिथोरेर गयो
हल्लाहरूको कोसेली बोकेर आएको हावाको झोक्का हल्ला त वास्तविक नै थियो
तर हल्लै हल्लामा हल्ला मात्रै आएको बुझिएन
बित्थामा मनलाई साँच्चै रेटेर आयो – गयो ।

भन्नेले भन्दिए
पृथ्वीको कोखमा भूकम्प आयो–गयो
यत्तीकै भत्किए कमजोर मनहरू
कसले पोखिदिएछ चन्द्रमा चहकमा तेजाबी षड्यन्त्र
पर्दा ओडेर हिँड्न बाध्य भए सुन्दरताहरू
दरिद्र सोचको डढेलो झोसेर आफ्नै मस्तिष्कमा
गाँउ जलेको खबर फैलिएर आयो
फोहोरी बिचारको पहिरो खसालेर आफ्नै मस्तिष्कमा
घर बगेको खबर फैलियो
र त थुप्रै बस्तीहरूमा निस्कियो अभावको मुहान
थुप्रै शताब्दीदेखि
जलिरहेको अग्निलाई पवित्र मानेर
जल्दै आएको छ समाजको एउटा वर्ग
बगिरहेको पानीलाई पवित्र मानेर
सदियौंदेखि बग्न बाध्य छ अर्को वर्ग
आफ्नै कर्मको नाँउमा आफ्नै पेसाले पिल्सिँदै
कहिले आगोको रागमा पोलिएर
कहिले विभेदको हथौडाले ठोकेर
कहिले तिखो सुइरोले आफ्नै पेटमा घोच्दै
कहिले आफ्नै संगीतको आर्तनादले रेटिँदै
एउटा वर्ग पर्खिरहेछ परिवर्तनको छाँया
परिवर्तनको छाँया पछ्याउन लगाएर
पुग्न बाध्य बनाए आफ्नै मृत्युको अघि,
आवाजको बाटो हुँदै शान्तिको गेट सम्म धकेले
तर हुँदोरहेछ शान्तिको मुलगेट अघि मृत्युको उत्सव
बाँकी कोही परिवर्तनको छाँयामा उभिएर
पानी पिउन नपाँउदै रोकिए
कोही परिवर्तनको मूलढोकासम्म छुन नपाएर आए
कोही सामन्ती पैतालामा कुल्चिन बिवश भए
कोही आरोपको अग्निकुण्डमा धकेलिए
र यो साँचो हो कि
आजसम्म पनि मान्छे प्रेम गर्दै–गर्दै मारिन्छ !

 

प्रतिक्रिया
Loading...