रबिना मैनाली

जब म आमाको कोखबाट काखमा उत्रिए
मलाई सुन्दर संसार हेर्ने लोभ थियो
कहाँ पुग्यो र मलाई हेरेर मात्रै
आमाको काखबाट जमिनमा ओर्लिए
मलाई आँगन टेक्ने रहर थियो
तर
फेरि पनि लोभिएँ म
मलाई चौतर्फी डुल्ने रहर भयो
कहिले आँगन कहिले आँगनी छेउको कुलोमा दगुरेँ
आमाको आँचल मुनि आमाकै नीग्रानीमा हुर्किएँ
उमेर भन्दा तेज मेरो रहरहरु पनि हुर्किए
आमाको कोख बाट काख
काख बाट जमिन
अनि
जमिन बाट आँगन र घरको कुलो नाग्न
हतारिएका मेरा पाउ आज
ओल्लो घर पल्लो घर
ओल्लो डाँडो पल्लो डाँडो
ओल्लो सहर पल्लो सहर
गर्दै गर्दै
आज
आमाको नजर बाट दूर आईपुगेँ
अब भने थाकेँ म
अझै आनन्द अझै सुख
भन्दै दगुरेका मेरा पाउ आज थाकेर भन्दैछ
लोभी मेरा आँखा अनि मन रोएर भन्दैछ
तिमीलाई सम्झेर आँसुले मुख धोएर भन्दै छ
सुख त आमाकै कोखमा रहेछ
स्वर्ग त आमाकै काखमा रहेछ
सुन्दर त आमाकै मन रहेछ
आनन्द त आमाको आँचल मुनि नै रहेछ
हे आमा कति मूर्ख र अनाडी छ त्यो सन्तान
जो सुख र आनन्द खोज्न
तिम्रो माया बाट र छाया बाट
इदर उदर भौतारीरहेछ अझै पनि ।