आमाले गर्भावस्थामा एकथान ढुङ्गा खाएपछि
म ढुङ्गा जस्तै कठोर भएर जन्मिएछु
र ताते सिक्दै गर्दा मेरा पाइलाहरुमा
ढुङ्गाकै स्वभाव छापिए पछि
रहरका धुलोहरु कहिल्यै उडेनन्
मैले उफार्ने प्रत्येक गट्टाहरुमा
दबिदै गए संगिनीको हार
र मैले ढुङ्गा सँगै उत्सव मनाएँ
मेरो पाइला भन्दा निकै परको
कुनै ढुङ्गा कुंदेर अदृश्य आकार दिएपछि
म नाङ्गो पैताला छिरेको थिए मन्दिरभित्र
अनि ईश्वर मानेर झुकेको थियो पहिलोपटक शिर
खुसीहरु फुलाउन जाँन्दा नजाँन्दै पनि
मैले फुलाएका हरेक फूलहरुले
किन ढुङ्गा कुदिएर आकार पाएपछि
ईश्वरको लागि चुडिँनु पर्छ हरेक बिहान्
जब काल्पनिक आकार दिएर ढुङ्गामा
पर्खालहरुले घेरियो मन्दिर भित्रको मूर्ति
त्यसपछि पहिलोपटक
आफ्नै बगैंचा नासेर झुकेको थियो मेरो शिर
खाएको थिएँ ईश्वरको नामको प्रसाद,
लिएको थिएँ ईश्वर पुज्ने पुजारीको आशिर्वाद
र म अपराधी भएको थिएँ
ईश्वरको पाउमा पुजिने फूलहरुको
सृष्टिलाई आफ्नै भरोसा दिदादिदै ढुङ्गाले
कैयौं पटक पाइला ठोक्किएर फुटेका छन् नङछुरिहरु
एउटा डिजाइनर आएर फेरिदियो ढुङ्गाको आकार
ढुङ्गा ईश्वर बनेपछि यहाँ ईश्वर जस्ता मानिस ढुङ्गा भए
जब म भ्रुण अवस्थामा थिए
मेरी आमाले भोको पेटमा उकाली ओराली गर्दा
पहिलोपटक भेटेको थिएँ ढुङ्गाको मिठास्
तर ढुङ्गाको आकार फेरिएर ईश्वर भएपछि
ढुङ्गाको पहिचान सँगै मिठास् पनि फेरिएको छ
हो ईश्वर अहिले मिठास फेरिएको छ फूलको सुगन्धले
यी पैतालाहरु छन् र ढुङ्गा हुनुको आभाष थियो
संगीहरु हार्छन र जित्नुमा उत्साह थियो
तर जब ढुङ्गाहरु देवता भए र चुडिन थाले
मेरै आगनका फूलहरु अनि फुलेका हुन्
क्रोधका कोपिलाहरु देवताको साम्राज्य भरी
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।