वासु पन्थी “देवस्मृती”

पर्दा खुल्ने र बन्द हुने
क्रम चलिरहेछ
छद्मभेषिहरु
पर्दाभित्र पर्दाबाहिर गरिरहेछन्
डवलीमा जमघट भैरहेछ

पर्दाभित्र हेर्दा, सुन्दा
बादकहरु बेसुरा बाजा बजाइरहेछन्
ढोलकीहरु बेतालमा
ढोलक ठोकिरहेछन्
साधकहरु बेरागी राग अलापिरहेछ्न्
नर्तकहरु बेढङ्गी नौंताली
नाच नाचिरहेछन्
भँडारेहरुले भाग मिलाउँदैछन्
साधुहरु बर्बराइरहेछन्
बडो अचम्म हुँदैछ
एक पटक होइन
पटक-पटक
डबलीमा जमघट भैरहेछ

पर्दा बाहिर हेर्दा, सुन्दा
बादकहरुले सुर पकडिएका छन्
ढोलकीहरु तालमा छन्
नर्तक-नर्तकी मयुर झैं नाचिरहेछन्
भँडारेहरु कतै देखिँदैनन्
साधुहरुले सिद्धान्तको व्याख्या मिलाइरहेछन्
द्रोणाचार्यहरु भद्र उपदेश योजनाहरु पस्किरहेछन्
एकलव्यहरु ताली ठोकिरहेछन्
बडो अचम्म हुँदैछ
एक पटक होइन
पटक- पटक
डबलीमा जमघट भैरहेछ

पर्दाभित्र जे देखिन्छ
पर्दा बाहिर त्यो देखिँदैन
पर्दा बाहिर जे देखिन्छ
पर्दाभित्र त्यो देखिँदैन
किनकि
पर्दाभित्र हुने ताण्डव पर्दाबाहिर हुदैन
पर्दाबाहिर हुने उत्सव पर्दाभित्र हुदैन
नबुझ्नेले बुझेको छैन
बुझ्नेले जिल खाइरहेछ
बडो अचम्म हुँदैछ
एक पटक होईन
पटक-पटक
डबलीमा जमघट भैरहेछ।

 

तुलसीपुर- १७, दाङ ।

9847452076