साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

विश्व वातावरण दिवसः फूलको वेदना

कविता

Chovar Blues Mobile Size

इच्छाको आवाजलाई लुकाउन सकिनँ
अनिश्चितताको विषाक्ततालाई थुक्न पनि सकिनँ
म त भर्खर फक्रेकी पालुवा न हुँ
हृदयको चन्चले मुस्कान ओठमा ल्याउने चाहनालाई फाल्न पनि सकिनँ

सांसारिकताभित्रै म पनि तिमीहरू झैं अल्मलिएकी छु
आशा र आकांक्षाको चक्रब्यूहमा फँसेकी छु
मेरो शरीरलाई मल, जल र ममता देऊ
बदलामा म तिमीलाई अघाउने गरी सुवास दिनेछु

नदीहरू सुक्दैछन्, न त वर्षा नै भइदिन्छ
परिस्थितिको हुरीले मेरो धैर्य र साहस लुटिदिन्छ
गृष्मको गर्मी र हिउँदको तुषारापातले मेरो रुप लग्यो
एकचोटी नियाल त मेरो रुप सँगसँगै प्रकृति पनि उजाडिने भयो

माटोहरू मलाई छोडी नदीको लहलह सँगै लाग्यो
अचानकै आएको पहिरो र भूक्षयले मेरो त बासै उजाडिने भयो
तर पनि थोरै ठाउँमा अटाएर बसेकी छु, हे मानव
स्वार्थी प्रवृत्ति त्यागेर प्रकृतिलाई नै तुल्याऊ सजीव

मनमा तिमीहरू प्रति आक्रोशित भावना भए पनि
म त समुद्र झैं गम्भीर भएर बसेकी छु
तिमीहरू भन्दा सानी एक तुच्छ फूल भए पनि
मेरो भावनाहरू हिमालझैं अटल बनाएकी छु

हेर न, धर्ति माता उदास छिन्
तिम्रो बढ्दो कृत्रिमताको मादतकताले
म त आफ्नै सुगन्धले वाक्क भइसकेँ
तिमीहरू मबाट प्रतिदिन टाढिंदै गएकाले

sagarmani mobile size

प्रभातका किरणहरू सँगसँगै उदाउने चेष्टा गरेँ
बादलले हामी बीचको मित्रता टुटाइदियो
स्वस्थ हावामा हराउने प्रयास गरेँ
तिमीबाट आएको प्रदूषित हावाले मलाई रोगी बनाइदियो

ब्रम्हाले हामीलाई एकअर्काको लागि सृष्टि गरे
तर तिमीलाई त मेरो आवश्यता नै परेन
अर्थहीन अहंकारको आडम्बरमा रमाइरहेका छौ
हाम्रो लोप भएपछि बल्ल खुल्नेछ तिम्रो नयन

तिमीहरूमध्ये कयौंले मेरो छिमेकी रुखलाई रुवाउनु रुवायौ
प्रतिदिन बन्चरोले हिर्काएर ठुटै पारिदियौ
थियो मेरो भाग्य त्यसबखत, सानी म थिएँ
किशोरावस्थालाई क्षतविक्षत बनाइदियौ, आँसु मैले बगाउनु बगाएँ

चौबाटोमा अहिले आसन कसेर मैले
सहानुभूति प्राप्तिको झिनो आशामा तिमीलाई पुकार्दैछु
मेरो मुस्कानलाई थोरै मूल्य दिन्छौ कि भनेर
तिमीहरूसँग दयाको भीख माग्दैछु

नयनहरू स्थिर हुन थालिसके
दूरदूरसम्म तिमीलाई देख्दिनँ
निर्ममताको भीषण ज्वालामा त डढेनौ?
नत्र, तिमीहरुको ममता किन पग्लेन?

मनको इच्छामा पखेटा हालेर क्षितिज पारि म पुगेँ
ठूलो बाढीले अचानकै मलाई बगाइसकेछ
मैले आफूलाई त्याग्ने स्थितिमा बल्ल
तिमीलाई मेरो याद आएछ

मलाई सम्झ्यौ मानव एक लास भइसकेपछि
खोज्न हिँड्यौ मानव, म प्रकृतिबाट लुप्त भइसकेपछि
तिम्रो थोरै माया पाएकी भए रहने थिएँ जिवन्त
मानवताको छायाँ पहिल्यै तिमीमा परेको भए रहने थिए म युग पर्यन्त ।

प्रतिक्रिया
Loading...