

बिहान सूर्य उदाउनुअघि नै
हातमा नाम्लो बोकेर हिँडेको
सूर्य बहादुर तामाङ
सूर्य अस्ताउनुअघि नै
कीर्तिपुरको बीच सडकमा
हातमै नाम्लो च्यापेर अस्तायो ।
अस्ताएपछि सूर्य बहादुर
एकाएक अखबारहरूमा छायो,
मध्याह्नमै बीच सडकमा
नाम्लो च्यापेर अस्ताएको सूर्य बहादुर
अखबारका पाना भरिभरि तस्बिर बनेर आयो
अनि मात्रै सूर्य अस्ताएको खबर
लोकले चाल पायो ।
शरीरमा अलिकति तागत छउन्जेल
नशामा दुईथोपा रगत बगुन्जेल
सूर्य बहादुर कहिले नाम्लो च्यापेर
कहिले भारी बोकेर
बाघभैरव- पाँगा- नयाँबजार-कालीमाटी गरिरह्यो,
पसिनाको धारा चुहाउँदै
कहिले बल्खुको तरकारी बोक्यो उसले
कहिले साहुको सिमन्टी घिसार्यो उसले
धेरैलाई खुवायो सूर्य बहादुरले
धेरैका घर बनायो सूर्य बहादुरले
आफूभने सधैँको बेघर सूर्य बहादुर
बन्दाबन्दीमा शायद भोकभोकै पर्यो
र त आकाशमा सूर्य नअस्ताउँदै
बीच सडकमै गर्लम्मै ढल्यो ।
जिउँदो छउन्जेल बगेको
सूर्य बहादुरको स्वाभिमानी पसिना
न उसको सरकारले देख्यो,
हुनेखानेको सहरमा
हुँदा खाने सूर्य बहादुरको वेदना
न त कुनै अखबारले लेख्यो
मरेपछि भने
सूर्य बहादुर एकाएक शीर्ष समाचार बन्यो र सूर्य झैं चम्कियो:
“धादिङको सूर्य बहादुर तामाङ कीर्तिपुरको बीच सडकमै मर्यो”
खै कसलाई थाहा छ –
धादिङको सूर्य बहादुर
बाबुआमाका सपना बोकेर
झार्लांगबाट झरेको थियो कि
प्रेयसीको दुःखका दिन फेर्नका लागि
तसर्पु या तोप्लांगबाट याम्बुरी छिरेको थियो ।
अब ऊ फर्केर आउने छैन र भन्ने छैन-
ऊ धादिङबाट यो शहर किन पसेको थियो ।
शहरले उसलाई डस्यो
ठूलाहरूको शहरमा
सानाहरूका मसिना सपनाको कुनै हिसाब हुँदैन
तैपनि केही होला भनेर
सूर्य बहादुरले
ठूलाहरूको आशामा
ठूलाहरूकै आदेशमा
कहिले “हलो” समायो
कहिले “रुख” को सहारामा रमायो
यसपालि
सूर्य बहादुरले
गरिखानेहरूको सुदिन फिर्ला कि भनेर
“सूर्य” लाई आफ्नो ठम्यायो र
सूर्यकै सरकार बनायो
तर अपशोच
सूर्यकै सरकार भएको बेला
भ्रमको अँध्यारोले थिचेर
भोकको भुमरीमा परेर
राजधानीकै मुटुमा
सूर्य बहादुर तामाङ डङरंगै ढल्यो ।
(पेशाले वातावरण विज्ञ डा. ऋषि बस्ताकोटी कविता, गजल, मुक्तक लेखनमा सक्रिय छन् । उनका “ज्वालाका रापहरू” गजल संग्रह र “गजल स्पर्श” सांगीतिक गजल एल्बम प्रकाशित छन्। विभिन्न साहित्यिक पत्रपित्रकाहरूमा उनका कविता, गजल, गीत, मुक्तक, कथा, निबन्ध र समीक्षा नियमित रुपमा प्रकाशित छन् । उनी राष्ट्रिय कविता महोत्सव (२०५२), गजल प्रतिभा सम्मान (२०६३), खुल्ला विश्वव्यापी अनलाइन मुक्तक प्रतियोगिता (२०७३) लगायत साहित्यिक पुरस्कार र सम्मानबाट सम्मानित छन् ।)



