टेगोर भन्छन्– “एक्लै हिँड !”
म पनि भन्छु – “एक्लै हिँड !”
एक्लै हिँड जहिलेसम्म थाक्दैनौ ।

हिँड एक्लै एक्लै र निदाउँदा पनि– एक्लै निदाऊ
हिँड एक्लै एक्लै र ब्युँझदा पनि– एक्लै ब्यूँझ
कोही भएनन् भनेर नडराऊ – बस् ! एक्लै हिँड

हिँड्दा हिँड्दै कहिले बायाँ हात फिँजाऊ र
एक्लै हिँडिरहेको आफैँलाई अंगाल
कहिले दायाँ हात फिँजाऊ
र एक्लै हिँडिरहेको आफँैलाई
जिन्दगीको कान्लो उक्लिन सहारा देऊ

कहिले ओरालोहरूमा बुई थाप– एक्लो आफूलाई
अघि अघि हिँडिरहेको आफूलाई भेट्टाउन अलि छिटो हिँड
पछि पछि आइरहेको आफूलाई अलि छिटो हिँड भन
चौतारोमा बस र
प्रत्येक छपनीहरूमा बसिरहेको आफैँसँग बात मार ।

एक्लै हिँड तर गीत गाउँदै हिँड
एक्लै हिँड तर बात मार्दै हिँड
एक्लै हिँड तर मुस्कुराएर हिँड
एक्लै हिँड तर आनन्दले हिँड

एक्लै हिँड, एक्लै हिँड, एक्लै हिँड
हिँड
एक्लै, एक्लै, एक्लै, एक्लै, एक्लै

एक्लै हिँडेर गन्तव्यमा पुगेपछि
आफू वरिपरि हेर
कति धेरै एक्लैहरू तिम्रो साहरा भइसकेका हुनेछन्
र, तिम्रो जीत या हारको हिस्सा बनिसकेका हुनेछन्

अब यी एक्लाहरूले तिमीसँग केही माग्दैनन्
नत यी एक्लाहरूलाई तिमीले केही दिनुपर्छ

मुसुक्क मुस्कुराउँदै आराम गर र
एकपटक सबैले सुन्नेगरी भन–
एक्लै हिँड !