रमेश गौतम

समय यात्रा
बाटो संकेत गर्छ
चुनावी मसी ।

पहेँलिएका पात
उदासिन मुस्कान छर्दै सम्भावनाको आकाशमा
उडान भर्ने आश्वासन बाँड्दैछन् ।

लामो यात्राका यात्री
दशनङ्ग्री खयाउँदै जमिनमा
आत्मनिर्भरताको यात्रा सुरु गर्दैछन् ।

यताउती टाँसिने मात्र कि
आफ्नै खुट्टामा उभिने
चुनाउ गर्नुछ सबैले आफ्नै भविष्य ।

कुन हो जुका, किर्ना, उडुस, उपियाँ र
कुशासनको फोहोरमा रमाउने
अरुको बाली खाने आफू नलाउने ।

कुन हो गड्यौला माहुरी र
स्वकर्ममा स्वधर्ममा रमाउने
सबैका लागि फुलाउने फलाउने ।

छाया बाहिर
जीवनको रोजाई
साझा भविष्य

उर्बर छ माटो अनुकुल छ प्रकृति
बन्न सकेमा असल माली
प्रकृतिले नै ल्याउनेछ हाम्रो समृद्धि ।

समय यात्रा
बाटो संकेत गर्छ
चुनावी मसी ।

छाया बाहिर
जीवनको रोजाई
साझा भविष्य ।

महाङ्काल (४, कालेश्वर, ललितपुर