आँगनको छेउमा बा पत्र पत्र पार्दै
बाँसका अनगिन्ती पत्र छुट्याइरहनु भएको छ
छेउमा बम्बई पुगेको ठूल्दाइको पत्र छ
म काहिँलो बालाई आधा बुनिएको डोकाको
आँखामा आँखा गाडेर बालाई सोधिरहेको छु
बा गोरखपुर त देखिएन
यो डोकाको आँखाबाट
बाका पैतालाबाट पत्र पत्र निस्किएका छन्
जीवनको गोरेटो हिड्दा निस्किएका पत्र
ती पैतालामा च्यापिएको छ पत्र पत्र निस्किरहने बाँस
बाले फेरि भन्नु भो
अलिक नियालेर हेर्न साने
देखिन्छ गोरखपुर
मैले फेरि नियालेर हेरेँ
पीढीं देखियो
पिढींमा झुन्डिएको खुरपेटो देखियो
बाको फाटेको कमेज देखियो
आमाको फाटेको मजेत्रोको गजमुज देखियो
ढोकामा नाग टाँस्दाको गोबर देखियो
उक्किएको भित्तो देखियो
झन् नियालेर हेरेको
एउटा साँङलो देखियो
अनि
बा मैले डोकाको आँखाबाट गोरखपुर देखिन
अलिक दक्खिन तिर फर्का त केहि देखिन्छ कि
फेरि दक्खिन फर्काएर हेरेँ
त्यहाँ त छिमेकी जिम्मालको सुकाइरहेको कछाड देखियो
तुर्लुङ्ग झुन्डिएको जनैको मुठो देखियो
म कहिल्यै नगएको उनीहरुको बार्दली देखियो
आज त्यो पुरानो डोको छ
बा छैनन्
स्मृतिहरु कुदिरहेका छन्
फन्फनी
म डोकाको आँखा बाट चियाएर हेर्छु
त्यहाँ बाट गोरखपुर मात्र हैन
पूरै ब्राम्माण्ड देखिन्छ ।
प्रेमको बगैँचा पनि देखिन्छ
बिस्वासको सागर पनि देखिन्छ
बदला घात र प्रतिघातका ज्वारहरू पनि देखिन्छ
एउटा हैन सयौं पहाडहरु देखिन्छ
अग्ला होचा
काला गोरा
सबै मनहरु देखिन्छ
आफ्नै मन देखिन्छ
मन भित्रको घाउ देखिन्छ
प्राप्तिको अभिलासामा कुदिरहेको
प्यासी मन देखिन्छ
आफूलाई बोध गर्न नसकेर
अशान्त आत्मा बोकेको मन देखिन्छ
शालग्राम बन्न नसकेको तर
हजार ठक्कर खाइरहेको हृदयको कालीगण्डकी देखिन्छ
डोको छ
बा छैनन्
हो अचेल डोकाको आँखाबाट सबै देखिन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।