प्यारो तन्त्र छ लोकतन्त्र दुनियाँ संसारमा उन्नत
खाली पेट छ मासु त्यो नकिन क्वै बेचेर आफ्नो मत
छाप्रोमा छ अभाव पीर अथवा नाङ्गो छ यो आसन्
चिन्ता गर्न हुँदैन ढुक्क हुनुहोस् आयो नयाँ शासन् ।१।
नौलो यो गणतन्त्र हेर्छ सबले पैसा कतै मिल्छ कि
खाडीको पसिना प्रशस्त असिना बाली सबै निल्छ कि
नाङ्गो देश बनाउदै अघि बढे के चल्छ प्रशासन्
चिन्ता गर्न हुँदैन ढुक्क हुनुहोस् आयो नयाँ शासन् ।२।
भ्रस्ट्राचार हुँदैन भन्छ मुखले जिब्रो छ साक्षी तर
खायो लाख करोड अर्ब अब हो दिन्छन् खुला उत्तर
राम्रो काम गरे कडा छ नतिजा चाँडो छ निष्कासन्
चिन्ता गर्न हुँदैन ढुक्क हुनुहोस् आयो नयाँ शासन् ।३।
पैसा सँङ्ग मिठो छ स्वाद सबको आहा छ उन्मादको
थोत्रो हुन्छ विचार भ्रष्ट्र धनमा स्वाहा छ त्यो वादको
देखिन्छन् मुखिया अत्यन्त हँसिला बाँडेर आश्वासन्
चिन्ता गर्न हुँदैन ढुक्क हुनुहोस् आयो नयाँ शासन् ।४।
शिष्टाचार समाप्त भो सबकुरा बिक्री छ बर्बाद छ
अत्याचार न देख्छ क्वै मुलुकमा नैरास्यता व्याप्त छ
हुन्छन् है जनता सचेत कहिले को गर्छ प्रकाशन्
चिन्ता गर्न हुँदैन ढुक्क हुनुहोस् आयो नयाँ शासन् ।५।
सिगास -२, बैतडी
हाल: सिन्धुपाल्चोक
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।