प्रसन्न ढुंगाना

संविधान आउनुपर्ने थियो
महाभुकम्प पो आयो
बनाउनु पर्ने थियो देश
भत्काए र पो गयो
गयो त्यो गयो, महाभुकम्प गयो

हेर्दा हेर्दै, वर्षौं बुढो धरहरा
मठमन्दिर र पुराना सयौं दरबार
गाउँघर, सहर बजार
पारेर छिन भरमै खण्डहर
गयो त्यो गयो, महाभुकम्प गयो

समयमै संविधान बनाउने सद्बुद्धि दिएर
खिचातानी असहमति आफैंसँग लिएर
भत्किएको देश आफैं बनाउने
हाम्रो सामस्या विश्वलाई जनाउने
यस्तै सन्देश नेपालीमा छरेर
हुदै नसक्ने सहमति गरेर
गयो त्यो गयो, महाभुकम्प गयो

सहरमा सिमेन्टका गगनचुम्बी महल
वा गाउँघरका कच्ची माटोका घर
सबैको जग हल्लाएर
कतिलाई ढल्काएर
कतिलाई गर्लम्याएर
अब उप्रान्त भुकम्प प्रतिरोधी संरचना
बनाउनु भन्दै हकारेर
गयो त्यो गयो, महाभुकम्प गयो

घरमालिक र डेरावालका बिच
मालिक र नोकरका बिच
ठूला र सानाका बिच
अनौठो सम्बन्ध बोध गराउँदै
तेरो मेरो भन्ने भावना मराउँदै
को साम्यवादी, को पुँजिवादी
सबको मन मस्तिष्क हल्लाउँदै
गयो त्यो गयो, महाभुकम्प गयो

सबको बास खुल्ला धरतीमा
मरिलानु केही छैन, खल्ती हुन्न कात्रोमा
विनास सँगै विकासको ढोका खुल्दछ
काँडा माथि नै सृष्टिको सुन्दर फूल फुल्दछ
यही अर्तीले हामी सबैलाई बाँधेर
समय कालमा फेरि आउने सम्भाव्यता
साँचेर गयो
गयो त्यो गयो, महाभुकम्प गयो ।