बाछिटा लघुत्तम काव्यिक उपविधा हो। यसको संरचना सूक्ष्म र तीक्ष्ण हुन्छ।

जीवन, जगत् र भोगाइका अनन्त चेतना,चिन्तन र संवेगहरूलाई प्रकृतिका विविधाङ्गी रूप,दृष्य, छटा वा अवस्थासँग तुलना गरेर वा त्यसलाई प्रतीक बनाएर बाछिटा रचना गरिन्छ।

बाछिटा रचना तीन पाँच तीन अक्षरयुक्त तीन पंक्तिमा गरिन्छ।बाछिटाको पहिलो पंक्तिले विषयवस्तुको उठान गर्नुपर्छ।

बाछिटाको दोस्रो पंक्तिले विषयवस्तुलाई विस्तार गर्दै उत्कर्षमा पऱ्याउनुपर्छ।बाछिटाको तेस्रो पंक्तिले विषयवस्तुको पुष्टि गर्दै मूल मर्म वा भावलाई व्यक्त गर्नुपर्छ।

बाछिटाको तीन पंक्तिबीच भाव र अर्थगत सामन्जस्यता हुनैपर्छ।बाछिटाको अक्षर संरचना वा गणना भाषाको लेख्य रूपअनुसार वा सर्वमान्य व्याकरणिक नियमअनुसार हुनुपर्छ।बाछिटाको प्रस्तुतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राकृतिक बिम्बको उपस्थिति रहनुपर्छ।बाछिटाको अभिव्यक्ति प्रतीकात्मक वा लक्षणात्मक र व्यञ्जनात्मक हुनुपर्छ।बाछिटा रचना गर्दा निपात र संयोजकजस्ता भाषिक रूपहरू भरसक प्रयोग नगर्नु समुचित मानिन्छ।बाछिटाकारले समाजमा परम्परादेखि प्रचलनमा आएर समाजको सम्पत्ति बनिसकेका उखानतुक्काहरूका शब्दहरू अगाडि पछाडि पारी बाछिटा रचना गरेर आफ्नो सम्पत्तिसरह बनाउनु अमान्य मानिन्छ।

बाछिटा लेखनमा उल्लेखित मान्यताको सर्वोपरि महत्व रहेको छ। तीन पाँच तीन अक्षर मिल्दैमा बाछिटा हुँदैन, त्यसमा प्रकृति बिम्ब र प्रतीकात्मक प्रस्तुति हुनैपर्छ।

बाछिटा काव्यिक उपविधा हो। यसको लेखन सहज पनि छ र असहज पनि छ।बिम्ब के हो ? प्रतीक के हो ? वा लक्षणा र व्यञ्जना शब्दशक्ति के हो ? लेखनमा यसको प्रयोग कसरी गर्नसकिन्छ ? भन्ने कुराको गहन अध्ययनबाट स्पष्ट भएर बाछिटा रचना गर्दा यसको लेखन सहज बन्नसक्छ। साथै मानव जीवन र मानव जीवनका सम्पूर्ण क्रियाकलापहरूलाई प्रकृतीकरण गरेर वा प्रकृतिजन्य सम्पूर्ण क्रियाकलापहरूलाई मानवीकरण गरेर अर्थात् प्रकृतिका विविध स्वरूपलाई जीवन भोगाइका विभिन्न पक्षसँग वा जीवन भोगाइका विभिन्न पक्षलाई प्रकृतिका विविध स्वरूपसँग दाँजेर वा तुलना गरेर बाछिटा रचना गर्दा प्रकृतिबिम्बको उपस्थिति पनि देखिन्छ र प्रतीकात्मक पनि बन्छ वा बाछिटा लेखन सहज बन्छ।
बाछिटाको काव्यिक उपविधाको रूपमा २०७७ साल जेठ २ गते सर्जक खगेन्द्र बस्यालको साथ र समर्थनमा बाछिटा काव्यिक उपविधाका परिकल्पनाकार अमर त्यागीले सिद्धान्त निर्माणसहित प्रवर्तन गरेका हुन्। प्रवर्तनको छोटो समयमै अनेकौं अग्रजदेखि नवसर्जकहरूबाट बाछिटा लेखिदै आएको छ।अहिलेसम्म आधा दर्जन बाछिटा कृति प्रकाशित भइसकेका छन् । साहित्य पोस्टको “बाछिटा प्रकाशनमाला-३०”मा रामप्रसाद पुरी,कृष्णदेव रिमाल, मोहन घिमिरे, राजेश भट्टराई र भवानीश्वर रन्जितकारका पाँच दर्जन बाछिटाहरू प्रस्तुत गरिएका छन्।यसपछि अन्य सर्जकहरूका बाछिटाहरू क्रमश: प्रस्तुत गरिने छन्।सय शृङ्खला पुगेपछि सबै बाछिटाहरू सङ्कलित “समकालीन नेपाली बाछिटा” नामको बृहद् कृति प्रकाशन गर्ने उद्देश्यका साथ बाछिटा प्रकाशनमाला आरम्भ गरिएको हो।

 

पाँच दर्जन बाछिटा

१.रामप्रसाद पुरी

जागिर
आकासे फल
आखिर

काइदा
मौसमी खेती
फाइदा

नेपाल
स्वार्थ जालमा
बेहाल

आसको
त्यान्द्रोमा त्रण
त्रासको

मादल
तालमा तृण
भाकल

हतास
मन उदास
निराश

नासोको
वृक्षमा डोरी
पासको

फाँटको
बालीमा साँढे
ढाँटको

भोटको
खेती चुनाब
नेताको

छनोट
कर्म सर्नोच्च
अठोट

बलको
स्रोत व्यापारी
दलको

स्वार्थको
डुबान ताल
अर्थको

•~~<>~~•

२.कृष्णदेव रिमाल

मृत्तिका
उर्वरतामा
जीविका

भँगालो
स्नेह बन्धन
अँगालो

अँचेट्यो
स्वार्थ कम्पले
घचेट्यो

अगुवा
कुखुरा चोर
भगुवा

पँजेरो
संस्कृति देश
अँधेरो

अडिग
हिमाल स्वत्व
फटिक

हतारो
कर्ममा काँडा
लतारो

हिमाल
काखको शोभा
चिमाल

सन्तान
चरी भुरूरू
सन्ताप

रसिलो
जोवनफल
कसिलो

रापिलो
बैंसको याम
बाफिलो

खुपैको
मेहनी जाली
रुपैको

•~<>~•

 

३.मोहन घिमिरे

बर्साद
शक्ति खेतीको
प्रसाद

वन्दना
भक्ति कर्ममा
अर्चना

प्रेमको
बास्ना उद्यान
धामको

मनको
चाहना घाम
जनको

नैराश्य
मनको मेघ
कालुष्य

निराश
जीवन बन
उदास

प्रसन्न
चित्तमा शक्ति
उत्पन्न

सत्ताको
मोह हरियो
भत्ताको

सामीप्य
स्वार्थको जाल
औचित्य

उज्यालो
मनमा द्वेष
तुवाँलो

 

उखान
प्राचीन नव्य
दोभान

सिद्धान्त
शक्ति उछाल
देहान्त

•~~<>~~•

 

४.राजेश भट्टराई

बातको
जालमा चाल
घातको

आराम
सुखको आगो
हराम

जवानी
घामछायाको
जमानी

मदिरा
सेवन जुनी
धमिरा

बर्सात
स्रोत सृजना
सौगात

सोचाइ
दिलमा काँडा
घोचाउ

लुटको
जालोमा कालो
फुटको

हँसाइ
जूनमा ज्यान
बसाइ

सुन्दर
पुतली उड्ने
सहर

सम्बन्ध
साथ फूलको
सुगन्ध

अङ्गालो
भङ्गालो प्रेम
सङ्गालो

श्रृङ्गार
सुन्दरताको
झङ्कार

•~~<>~~•

 

५.भवानीश्वर रन्जितकार

पिरको
पहरा नदी
तीरको

मैदानी
बालीमा साँढे
सुनामी

दोहोरी
भाषण भेल
फोहरी

खोरिया
खन्नेका यात्रा
कोरिया

रावण
तुवाँलो भ्रष्ट
ब्राह्मण

रूखको
शान्त छहारी
सुखको

गाउँको
जीवन रश्मि
साउँको

जोडेको
लहरो नाता
तोडेको

कर्मको
चेतप्रवाह
धर्मको

विद्वता
बादल कालो
दुष्टता

झगडा
छट्टु स्यालको
तगडा

पहिरो
बस्तीमा पस्दा
बहिरो

•~<>~•