अचेल युगले
जन्माएका जीवनहरु
काँपिरहेका छन्
मस्तिष्क हावि भएर हो कि?

हृदयहरु चल्नै छोडेका छन्
क्षितिज पारिबाट कसैले
यमराजको पल्टन रिलिज गरेजस्तो
यान र रकेटहरु जीवन मेटाउने
ग्यास बोकेजस्तो
सूर्यको प्रकाश पनि हानिकारक भएजस्तो
झरीले विष पोखेजस्तो
चाँदनीले सुटुक्क यमराजसँग
कानेखुशी गरेजस्तो
यस्तै छ मेरो युग

ऊ निधाएको छ, मस्त निद्रामा छ
थाहा छैन कहिले बिउँझिन्छ?
हरेक युगको भ्रूँणबाट
उदाएको बिहानले
हृदय गाँसिएको एउटा
सिङ्गो मानवता खोजिरहेछ
अचेल मेरा छोराछोरीहरु
आधुनिक युग लेख्न मन पराउँछन्
प्रविधि लेख्न खोज्छन्
हवाई यान लेख्न खोज्छन्
समुद्रमाथि एयरपोर्ट लेख्न मन पराउँछन्
मंगल ग्रहको यात्रा लेख्छन्
मंगल ग्रहमा बस्ती बसाउन लेख्न मन पराउँछन्
भन म के गरुँ ?
मेरो युगले यही सिकाएको छ।

मेरो छोराछोरीको पाठ्यक्रममा
आधुनिक युग बाँच्ने
जीवनको सूत्र पाइन्छ
मस्तिष्कले सिकाएको जीवनका सूत्रहरु
पानीका फोका जस्तै छन्
कतिखेर फुट्छ थाहा छैन
युगले सिकाएको जीवनका सूत्रहरुमा
म सपनाको भर्याङ्ग जोडेर हृदय खोजिरहेछु
ए युग, तिमीले दिएको
सम्पन्नताको सर्टिफिकेट भित्तामा टाँसेर
म कसरी मानवताको गफ हाँकु?

मेरो युगले सम्पन्नताको सर्टिफिकेटमा
तोक लगाएपछि
मलाई आधुनिक युगको मान्छे भनिएको हो
भन म के गरुँ?
मलाई यो युगले यस्तै बनाएको छ।

तर म चाहन्थेँ
मेरा छोराछोरीहरुको पाठ्यक्रममा
पृथ्वीको पनि हृदय हुन्छ
भनेर लेखिदिएको भए
पृथ्वीमा रहेका सबै प्राणीहरुको
पनि बाँच्ने अधिकार हुन्छ
भनेर लेखिदिएको भए
सबैभन्दा ठूलो धर्म
मानवता हो भनेर लेखिदिएको भए
मेरा छोराछोरीहरु जीवनको परीक्षामा
पास हुन्थे होला
तर यो युगको परीक्षामा
उनीहरुले प्रथम स्थान हासिल गरेका छन्
भन म के गरुँ यस युगलाई?

 

अध्यक्ष
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलिया