त्यो दुर्गमको अँध्यारो बस्तीमा

एक मुठ्ठी घाम पसोस्

जहाँ, जूनले सधैँ गिज्याइरहन्छ

अगुल्टोको झिल्कोले घामको झल्को मेटिन्छ

छानोको पारदर्शितामा

उनीहरुको नग्नता हाँसिरहेछ।

 

मैले महसुस गर्ने यी सुस्केराहरु परको

सल्लाहले सधैँ सुसाउँछ

बर्कोले नछोपिएका उनीहरुका शरीर

पानी र हावाले  सिधै स्पर्श गरेर जान्छ

तर घाम !! उसले कहिल्यै चिहाएन।

 

नदीलाई त त्यो बस्तीमा अनाधिकृत पसेर

ताण्डव मच्चाउन छुट छ

बाँकी केही अवशेषहरुलाई पनि

आँधिले लछारपछार पार्ने छुट छ

ए साथी! हेर त!

यहाँ लाग्ने घाम कतै बादलतिर लुक्यो कि

हेर्नेहरुका आँखालाई घामैले पो छेक्यो कि

हरेकलाई थाहा छ

हिउँमा पनि आगो पोखिन सक्छ

हुरीको थप्पडले ढलमलाउँदै बढेका पाइलाहरुले

सिङ्गो घाम अँगालेर बसेकाहरुलाई

घृणाको आगोले सल्काउन सक्छ

खाली पेटको सुसेलीलाई सुन

बहिरोको नाटक नगर

केही घाम केही जून ती बस्तीमा आउन देऊ।

 

उनीहरुका बस्ती कोलाहलले नभासियोस्

सपना र आकांक्षाहरुको पहाड फोडेर

बगेको आँसुले

नूनको प्यास मेट्न पर्यो भने

नुनिलो पसिनाको भेलले

झलमल तिम्रो सहरलाई

एकैपटक बगाउन पनि सक्छ

घामले पोलेर आँखा चिम्लनु अगाडि,

अलिकति घाम यो अँध्यारो बस्तीमा छिर्न देऊ ।

 

हैन भने

यसै बस्तीभित्र उब्जिएका

जोसिला रगतले जीवन्त अक्षरहरु जन्माई

अँध्यारोलाई फाल्न सबैलाई

एकैचोटी बिउँझाउन सक्छन् र

तिम्रो सिंगो सूर्येलाई

हत्केलाले छेकिदिन सक्छन्

त्यसैले

त्यो अँध्यारो बस्तीको सुसेलीलाई पनि

मीठो राष्ट्रिय गीतमा सुर मिलाई देऊ

ताकि

सबैलाई बिउँझाउने संगीत बनिदियोस्

सबैलाई बराबर उज्यालो दिने सूर्य भैदियोस्।