भान सिंह धामी

बाली टन्न फलुन् चुलोपनि बलोस् आगो र पानी रहोस्
सारा कर्म फलुन् र धर्म जगमा माटो खरानी रहोस्
लाखौं अन्न उमारियोस् जमिनमा भर्दै भकारीहरू
बाँझो खेत गरा नहोस् कहीं कतै वारि र पारी अरू ।१।

औधी शान्त पहाडको मुलुकमा संज्ञान मिल्दै रहोस्
सेवा शुल्क निःशुल्क होस् रहरमा विज्ञान मिल्दै रहोस्
पाखा यी हरिया हुँदा सहरिया आँखा नलागुन् अब
नाना काम तमाम दाम दुःखले मिल्दै रहुन् बान्धव ।२।

बोल्दा होस् गरुन् र जोस् नभरुन् देशीविदेशी जन
माटो मुल्य अमुल्य हुन्छ तुलना गर्दैन सच्चा मन
प्यारो लाग्छ हिमाल उच्च छ अहा झुक्दैन संसारमा
धर्ती धड्कन होस् अमंगल नहोस्, यो रक्तसञ्चारमा ।३।

कोही बुद्धि कुदाउदै सहरको प्रकाशमा रोक्कियुन्
गोही युद्ध हुँदाहुँदै नहरको पर्खालमा ठोक्कियुन्
माझी हो अब बार बार जलमा बल्छी पूरै बन्द होस्
माछाको घरमा मनोमहलमा प्रमोद आनन्द होस् ।४।

देऊ है नव वर्ष हर्ष सबमा सन्तान सन्तानमा
ज्ञाताको वरदान सभ्यपनको रन्को पुगोस् कानमा
गल्ती छैन ठूलो कुनै समयको टालोस् दुलो देशले
हाम्रो आँगनमा सभा छ अरुको भागोस् जनादेशले ।५।

सिगास -२, बैतडी
हाल: मेलम्ची, सिन्धुपाल्चोक

नव वर्ष २०७९ सालको सबैलाई हार्दिक शुभकामना ।