खगेन्द्र नेउपाने

त्यो मन्दिरभित्र एउटा ढुङ्गा छ
सबैले उसलाई भगवान् भन्छन्

न उ भित्र दुख्ने मुटु छ
न उ संग हेर्ने आँखा छ
कसैले छेकीदिए उ छेकिन्छ
कसैले देखाइदिए उ देखिन्छ
कसैले लडाइदिए उ लड्छ
कसैले चढाइदिए उ चढ्छ
उ जस्तै अरु ढुङ्गाहरुको पर्खालभित्र बस्छ
त्यो मन्दिरभित्र एउटा ढुङ्गा छ
सबैले उसलाई भगवान् भन्छन्

मानिसहरु गह्रुङ्गो मन लिएर
ढुङ्गैढुङ्गाको सडक कुल्चँदै
ढुङ्गैढुङ्गाको भर्याङ् चढ्दै
सुस्ताउँदै कैंडा पीडित बन्दै
स्वासको तिब्रता मोल्दै
भर्खर फक्रेका नवयौवना बनफूलहरुको
पोल्टाभरी कोशेली बोकेर
ढुङ्गा भगवानलाई भेट्न आउँछन्
गुनासो गर्छन् माग्छन् धम्क्याउँछन् भाकल गर्छन्
न उ संग सुन्ने कान छ
न बढप्पन छ न अभिमान छ

कति टाढा देखि धाएर
कत्रा ढुङ्गै ढुङ्गाका पाहाडहरु छिचोल्दै आएर
बिसाउँछन् प्राप्ति अप्राप्तिका कैरनहरु
पोख्छन् भरिएका मनहरु
थाहा छैन ढुङ्गालाई भगवान भनेको के हो
पहराबाट उछिट्टिएका उ जस्तै कैयौं ढुङ्गाहरु
कति खोलासंगै बग्दैहोलान्
कति बगरमा पर्खँदैहोलान्
कति सडकमा फोरिंदै होलान्
कति भित्ताभरी कोरिँदै होलान्
कति मानिसका मोलमा अनमोल भए होलान्
कति जमिनमुनिको तापमा झोल भए होलान्
तर सबैभन्दा फरक
सबैभन्दा अलग्ग
उ पूजाको हकदार भएर बसेको छ
त्यो मन्दिरभित्र एउटा ढुङ्गा छ
सबैले उसलाई भगवान् भन्छन्

एकाविहानै मान्छेहरु
अगरबत्तीको धूवाँ बोकेर टर्ल्याङ्ग घण्ट बजाउँछन्
सम्साँझै मान्छेहरु
ढुङ्गा अगाडी घुँडा टेकेर प्रशंसाको भजन गाउँछन्
कसैका भाकलहरु पुरा भए होलान्
कसैका लक्षहरु अधुरा भए होलान्
सबैसबैको आधार भएको छ ढुङ्गो
सबैसबैको जीवन सार भएको छ ढुङ्गो
तर
ढुङ्गोलाई थाहा छ छैन
भगवान भनेको के हो
सवैले उसलाई भगवान भन्छन्

भन्छन् मान्छेहरु
ढुङ्गाको भगवानलाई चोखा फूलहरु चाहिन्छ
भन्छन् मान्छेहरु
ढुङ्गाको भगवान अघि घुँडा टेक्दा
सबै चिताएको पाइन्छ
चिसो ढुङ्गो सँधैसँधै ताता फूलहरुको प्रतिक्षामा बस्छ
हरेक दिन जिउँदा फूलहरुलाई
ढुङ्गाको चिसोपनले डस्छ

ओइलाउँछन्
मर्छन्

हरेक दिन फूलबाट फोहोर बनिरहन्छ जिन्दगी
ढुङ्गाको यसैमा जयजयाकार छ
किनकि
सबै उसलाई भगवान भन्छन् ।

त्यो मन्दिरभित्र एउटा ढुङ्गा छ
सबै उसलाई भगवान भन्छन् ।

 

लेखक परिचय
नामः खगेन्द्र नेउपाने
जन्मः २०२२/११/२६
जन्म स्थानः ताप्लेजुङ
शिक्षाः स्नातकोत्तर , नेपाली
पेशाः शिक्षण
प्रकाशितः मट्याङ्ग्राहरु , कविता संग्रह
फुटकर लेख र कविताहरु
केही साहित्यिक सम्पादन