साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

गतिहीन

 

कर्तव्यको तरवारले रेटिदा रेटिदै
धुजा धुजा भएको
तिम्रो कलेजोमा ।
अभाव र पीडाले
जीर्ण भएको तिम्रो छातीमा
बर्षातको भेलले पाँगो छोडेपछि
गाँजिएको धानझैँ
तिम्रो पोल्टाभरी खुसीको पाँगो छोड्ने
अनि स्नेहको मलम लगाउने
कत्रो सपना मेरो ।

तर म आज आफैँ गतिहीन भएको छु
हो गतिहीन भएको छु
म आज आफैँ ।
पुषको चिसोले
चिरिएका तिम्रा कुर्कुच्चा
अनि वनमाराको झिक्राले
कोइचो परेको तिम्रो चोलोको प्वालमा प्रेमले चिउरी दल्ने
अनि ममताको टालो टाल्ने कति प्रयत्न मेरो
तर आज आफँै गतिहीन भएको छु ।

bahulako diary small and inside post

हर यात्रा जीवनको हरेक मोडमा
दुःखको झरीले तिमीलाई
नरुझाओस् भनी तिम्रो टाउकोमाथि हत्केलाले
कयौँ झरी ओत्ने प्रयास पनि नगरेको
कहाँ हुँ र मैले
तर म आज आफैँ गतिहीन भएको छु ।

सारका सारा चाहना
सपना, यत्न, प्रयत्नलाई थाँती राखी
कैदी बस्नु परेको छ आज मैले
अपराध बिनाको कैदी
आज एक धस्रो प्राणको लागि
मेरो बगानमा मौलाउँदा आँकुरा
जसको सुरक्षाको कैदी ।
आज आफैँमा फाट्नु
अनि आफैँमा सिइनु जिन्दगी भएको छ
तिमीलाई थाहा छ है ?
हाम्रो बैठक कोठाको भित्ते घडी
हिँडिरहन्छ सधैँ नरोकिएर
टक टक टक टक टक
आफ्नै गतिबाट गतिहीन भएको म
यदि निष्प्राण भएँ भने ?
तिमी जीवनको बाटोमा नरोकिएर
हिँडिरहनू, हिँडिरहनू, हिँडिरहनू है ?

 

प्रतिक्रिया
Loading...