
कवि परिचय
योगेन्द्र प्रधान (१९९८) नेपालभाषामा आधुनिक कविताको थालनी गर्ने सशक्त कविहरूमध्ये पर्छन् । जनस्वास्थ्य विषयमा विद्यावारिधि गरेका उनका तीन कविता–सङ्ग्रह प्रकाशित छन् ।
अनुवादकः आर. मानन्धर
इन्कलाबमा गुमेका मेरा हातखुट्टाहरू
डा. योगेन्द्र प्रधान

योगेन्द्र प्रधान
सृजनाको लोभले
खेत खन्दा खन्दै मैले
आफ्ना हातहरु गुमाएको छु ।
लक्ष्यको आशाले
बाटोमा हिँड्दा हिँड्दै मैले
आफ्ना खुट्टाहरु सुकाएको छु ।
दुःखको कुरा
खेतैभरि सिस्नु मात्रै झ्याँगिएका छन्
मेरा ज्यापु हातहरुलाई जिस्क्याउँदै ।
बाटैभरि काँडेझार मात्र फैलिएका छन्
मेरा हिँडुवा खुट्टाहरुलाई गिज्याउँदै ।
जुन अमृतको आसमा मैले
आफ्नै हातखुट्टाहरु होम गरेँ
त्यही अग्निमठले
म आफ्नै तालमा उड्नुपर्ने आकाश
सम्पूर्ण ढाक्ने गरी
आसमारा विषको धुँवा फैलाइरहेको छ ।
मैले आफ्ना हात गुमाएको
तिम्रा बलिया हातले
पर्खाल नभएको बगैँचाका फूलहरु
च्यात्नको लागि अवश्य थिएन ।
मैले आफ्ना खुट्टा मासेको
त्यो तिम्रा निष्ठुर खुट्टाले
अनिकालपछि बल्लबल्ल पलाएका बेर्नालाई
कुल्च्याउन त अवश्य थिएन ।
दुःखको कुरा
देशै गुञ्जायमान हुने गरी
“इन्कलाब” कराउँदै उठेका हातहरु
आज लालिगुराँस चिर्ने आरा बनेका छन् ।
देशैभर “जिन्दावाद” घन्काउँदै हिँडेका खुट्टाहरु
आज गुनकेसरी छियाछिया पार्ने हथौडा बनेका छन् ।
कामना गर्छु
कि व्याधाले ओछ्याएको जालमा अल्झेका तिम्रा हात
फेरि एकपल्ट नयाँ इन्कलाब चिच्याउन तन्कियुन् ।
कि कपटी गोहीको जिउमा चिप्लेर दोब्रिएका तिम्रा खुट्टा
फेरि एकपल्ट नयाँ जिन्दावादसित लेफ्ट–राइट गर्न सकुन् ।
मूल नेपालभाषाको कविताः



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

