कृष्ण बाउसे

भोकाहरूलाई
निर्धाहरूको भाग खोसेर खान सर्याउनू
र आफ्ना बारीका डल्लाहरू फोराउनू ।
नाङ्गाहरूलाई
सबैलाई नाङ्गो पार्न अह्राउनू
र आफ्नो काँल्लोमा रेसमको खेती लगाउनू
लाटाहरू मार्फत
बोल्न सक्नेका जिब्राहरू थुताउनू
र सेरोफेरोमा आफ्नैमात्र खाँडो जगाउनू

शान्ति छर्छु भन्नेले पनि
शान्ति त यसरी पो छर्नु
क्रान्ति गर्छु भन्नेले पनि
क्रान्ति त यस्तो पो गर्नु

रुख रोप्ने हातहरू कलङ्कित थिए भन्नू
र भएको वनमा आरा चलाउनू
बनाउनेहरू शत्रु थिए भन्नू
र बस्तीका पुलहरू भत्काउनू
बन्दका नाममा सडकमा टायरहरू पोल्नू
र सहरवासी भैखाएका दुम्सीहरूलाई
पिरो धुवाँमा मरणासन्न गुम्स्याउनू

शान्ति छर्छु भन्नेले पनि
शान्ति त यसरी पो छर्नु
क्रान्ति गर्छु भन्नेले पनि
क्रान्ति त यस्तो पो गर्नु

छेड्न छाडेर बर्माले काठहरू
मन नपर्नेहरूका गिदीहरू निकाल्न
तिनका टाउकाहरूमा प्वालहरू पार्नू
तास्न छाडेर बसिलाले बाकलहरू
बोल्न खोज्नेका आँङका छालाहरू काढ्नू
नछोड्नू कसैलाई
बरु आपसमा भिडाएर विपरीत वनका अर्नाका जत्थाहरू
सेरोफेरोलाई नै आतंकित गर्नू

शान्ति छर्छु भन्नेले पनि
शान्ति त यसरी पो छर्नु
क्रान्ति गर्छु भन्नेले पनि
क्रान्ति त यस्तो पो गर्नु

हो
धर्म र सिद्धान्तको नाउँमा विवेकलाई बन्धकी राखेर

प्रेम र युद्धमा जे पनि जायज हुन्छ भन्ने
एउटा बहुला मान्यतालाई छाँद हालेर
हिटलरले मानवताको खिल्ली उँडाएथ्यो
तिमीले त्यस्तै खिल्ली उडाउनू
पोलपोटले मानवतामाथि बलात्कार गरेथ्यो
तिमीले त्यस्तै कृत्यहरू गर्नू
अलकायदाले समयलाई प्रहार गर्ने क्रममा
प्राय निर्दोषहरू माथि नै
आत्मघाती हमला गरेथ्यो
तिमीले त्यस्तै हमलाहरू गर्नू

शान्ति छर्छु भन्नेले पनि
शान्ति त यसरी पो छर्नु
क्रान्ति गर्छु भन्नेले पनि
क्रान्ति त यस्तो पो गर्नु

गान्धीको के क्रान्ति के शान्ति
नेल्सन मन्डेलाको के क्रान्ति के शान्ति
तिमी थरीथरी मुकुण्डोधारी क्रान्तिकारीहरूको अगाडि
लेनिन र माओकै क्रान्ति पनि केको क्रान्ति थियो र
तिमी थरीथरी मुकुण्डोधारी शान्तिका संवाहकहरूको अगाडि
बुद्धकै शान्ति पनि केको शान्ति थियो र
तिमीले त
न्याय माग्ने अबोध किशोरी मैनाहरूलाई
आतंककारीको बिल्ला भिराउँदै
प्राणै लुटे पनि शान्ति छरेकै ठहर्छ
तिमीले त
आफूलाई चन्दा नदिने मुक्तिहरूलाई
सुराकीको आरोप लगाउँदै
घाँटी रेटेपनि क्रान्ति गरेकै ठहर्छ

त्यसैले त भन्दै छु
शान्ति छर्छु भन्नेले पनि
शान्ति त तिमीले जसरी पो छर्नु
क्रान्ति गर्छु भन्नेले पनि
क्रान्ति त तिम्रोजस्तो पो गर्नु !