मसान उपासक

समय
बोकेर दुःखको भारी
बिस्तारै पहाड उक्लिरहेको छ

बा जीवनको मझदारमा बसेर
पर्देसिएको छोरो फर्कने आशामा
रुङिरहेछन् जीर्ण घर
पर्खदा पर्खदै शरीर बुढो भो
अहँ छोरो घर फर्किएन

आमाको साडी चोली फेर्ने सपना
अधुरै रहने भो यसपटक पनि
परदेशले कसैलाई घरदेश आउन दिएन

अर्को छोरो खेलिरहको छ पब्जी
छोरी चलाइरहेकी छे फेसबुक
श्रीमती सिरियलमा मग्न छिन्
सरकार गर्दैछ आलटाल
र गरी खानेहरु गल्दैछन् क्रमश..
ठीक त्यही समय
सिमानाहरुबाट शत्रुहरु पसेका हुन्

हुन त
गुराँस फुले डाँडा पाखाभरी
उनी बस्ने चौतारीमा बसेर मैले पनि
कौयौँ गीत गाएँ कविता लेखेँ र रमाएँ
बाले बारीमा मकै छरेर सकाए
आमाले करेसाबारीमा तरकारी लगाइन्
गाउँमा यही समय सहरका मान्छेहरुका ताँती देखिए

अझै लेखेनन् अखबारहरुले
पर्खाइमा थलिएकी फुलमायाका दुःख
आइते साउदीबाट घर नफर्किएको सत्य
तर लेखिरहे मृगतृष्णाका भाषणहरु

पोखेरै शरीरका रगतहरु
उठाउनुछ देशलाई
सोध्नुछ देशका नायकहरुसँग
यो देश कहिले देशजस्तो बन्छ हँ ।

 

बकैया –४, मकवानपुर

आबद्धता
केन्द्रिय सदस्य, प्रलेस नेपाल
सचिव, झरना साहित्यिक परिवार मकवानपुर
केन्द्रिय सचिवालय सदस्य एवम् बागमति प्रदेश अध्यक्ष, राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपाल