नविन गिरी

आज वर्षको अन्तिम दिन
दुःख सुख मनमा लिएर
विदाई गरिरहेका छौं हामी वर्ष २०७८ लाई
सबैले सुन्न चाहिरहेछन् वर्षभरी नसुनेका प्रश्न
भन्न चाहेका तर नफुटेका वाक्यहरु
मनमा लागेका तर भन्न नचाहेका कथाहरु
म सोध्दिन अहँ सोध्दिन
मैले सोध्दैमा तिमीले भन्छौ भन्ने पनि होइन
मलाई लाग्दैमा तिमीलाई लाग्छ भन्ने पनि छैन
तिमीले भन्दैमा केही हुन्छ भन्ने पनि छैन

यो एउटा भोगाई रहेछ केही सिकाई रहेछ
नियतिले सिकायो या कर्मले
जे जति सिकायो, पक्कै भोलीलाई हेरेर सिकायो

मलाई आज केवल समीक्षा गर्नुछ
मेरा वर्षभरीका कमजोरी र उपलब्धिका अध्यायहरु
मैले बनाएका घाउहरु र लगाएका मलमहरु
शव्दले घोचेका मनहरु र व्यवहारले रिसाएका जनहरु
आफ्ना भएकाहरु आफ्ना रहेकाहरु र आफ्ना गएकाहरु
जितेका मनहरु र तताएका कन्सिरीहरु
जानी नजानी भएका कमी कमजोरीहरु
सबैलाई एकमुष्ट भन्ने मन छ
खुला हृदयको साथ मलाई माफ गरिदिनु ल
सक्छौ भने मन फराकिलो गरेर माफ गरिदिनु ल !

गोकर्णेश्वर, काठमाडौं
विद्यार्थी – शङ्करदेव क्याम्पस