म आकाश खस्छ भनी दौडिरहने चल्लो हुँ
प्रजातन्त्रको खोलबाट भर्खर भर्खर निस्केर
लोकतन्त्रका स साना ढुङ्गा
चपाउँदै फाल्दै र चपाउँदै
पूरा कुखुरा हुने रिले दौडमा छु
थाह छैन यो दौडको नियति
बेसारे चिल या घरकै बिराली
भर्खर भर्खर पलाएको पखेटा
चिकेन विँग्स हुनु अघि नै
लोकतन्त्र गणतन्त्र प्रजातन्त्र र राजतन्त्रका
एक एक वटा अण्डा पारी
कोरल्नुछ आफ्नै विधि र वैधता
र सिद्ध गर्नु छ कि म एक पोथी हुँ
हेर्नु छ डाँडा पारीको घाम
र बाँस्नु छ कम्तिमा एक रातको लोकतन्त्र
फट्फटाउँदै एक एक झोकतन्त्र
जुध्नुछ छिमेकी भाले वुख्याँचासँग
भिड्नु छ चिल वेसारे र गिद्धहरुसँग
लड्दै मिल्दै ब्याजी कोरलोहरुसँग
र सिद्ध गर्नुछ कि म एक भाले पनि हुँ
किनभने यो एक चल्लै चल्लाको देश हो
चल्ला हुनु भनेको अण्डा भन्दा ठूलो हुनु होइन
भाले भन्दा सानो हुनु भन्ने पनि होइन
चल्लाको आफ्नै चल्ने गति हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।