
मनुहाङ किराँती “सोलु”
हामी स्वतन्त्र नेपाली हौं
नेपाल हाम्रो घर
हामीले ओढेको सिङ्गो आकाश हाम्रो घरको छाना
सतहत्तर जिल्ला हाम्रो प्रत्येकको कोठा हुन्
त्यो कोठा भित्र स-परिवार हामी नेपाली
रमाई रमाई बाँचिरहेका छौं हाँसिरहेका छौं
अनि
पुर्व र सुदूर पश्चिम हाम्रो घरको सँघार
पूर्वलाई मूल ढोका र पश्चिमलाई जस्केलो
बोलीमा अनेक थरिका चरा पनि हौं हामी
एक हिसाबले नेपाल हाम्रो साझा गुँड पनि हो
अनेक थरिका संगीतमय आवाज छ हाम्रो
हामी यहीं नेपाल नामको वनभित्रका राजा पनि हौं
यसर्थमा हामी अनेक थरिका चरा भएका छौं
हाम्रो बासस्थानका लागि एउटै रुखको अनेक थरिका हाँगाहरु
कसैको हिन्दु गीता र वेद
कसैको किराँत र मुन्धुम
कसैको इद र कुरान
अनि कसैको ईसाई र बाइबल
कसैको अन्य हामीले टेक्ने हाम्रो विश्वासको खम्बा छ
नेपाल नामको वनभित्र हामी अनेक थरिका चराहरु
ब्रम्हा क्षेत्री नेवार राजवंशी आदि छौं
अनेक थरिका संगीतमय आवाजहरु गुञ्जन्छ हाम्रो
नेपाली किराँती मैथिली भोजपुरी र बञ्जिका
अनि त्यस्तै गरि नेवारी गुरुङ शेर्पा ल्होमी र नार फु जस्ता हाम्रा
संगीतमय स्वरहरु गुञ्जिने देश नेपाल
यसर्थमा नेपाल हाम्रो लाल किल्ला पनि हो
नेपाली हामी स्वतन्त्र हाम्रो पहिचान भन्न सक्छौं
हाम्रो घरको ढोकाबाट हामी नेपालीलाई बाहेक
अरुलाई बन्देज छ
विश्वका महायुद्धले समेत आँट गर्न नसकेको
हामी नेपालीको पहिचान् र स्वाभिमान्
साँच्चै नै गौरवमय इतिहास छ हामी नेपालीको
तर आज सतीले सरापेको देश भनेर
प्रत्येक हाम्रो ढोका-ढोका देखि हामीलाई ताकेर
बसेका सिकारीहरु छन
तर त्यो त नेपाली राजनीतिमा
हामी नेता भनाउँदाकाहरुले नै चाल दिएका हौं सिकारीहरुलाई
हिजोका इतिहासले हामीलाई सिकाउँछ
छाती फुलाएर गौरवका साथ सिधा नजरले उभिएर बस्थ्यो
तर आज नेपाल नामको वनभित्रको हामी चराहरुले
लुकी लुकी थर्थर् काँप्दै बस्नु पर्छ
कतै हाम्रो शत्रुको आहारा पो बन्न पुग्छु कि भनेर
डराई डराई बोल्नु पर्छ
अनि हामीले हाम्रो ढोकाको सुरक्षा गर्न सकिरहेको छैनौं
किन सरकार किन
हिजोका हाम्रा स्वाभिमान् कहाँ गए
विश्वका दुई महायुद्धले त कब्जा गर्न नसकेको हाम्रो देश
लिपुलेक र लिम्पियाधुरा सुस्ता र कालापानी
कैलाली र कञ्चनपुर बाँके र बर्दिया
टिस्टा र काँगडा अझै पनि हाम्रो लाचार देखेर रोइरहेको छ
यसर्थमा हामी हाम्रो नेपाल आमालाई रुवाइरहेका छौं
घरि विवादमा फसाएर रुवाउँछौं
घरि यता तानेर रुवाउँछौं
अनि घरि उता तानेर रुवाउँछौं
अब कहिले हाम्रो नेपाल आमालाई
शान्ति मिल्छ सरकार कहिले
उसै गरि हाम्रा भाकाहरु हराइरहेको छ
हाम्रो आवाजहरु डराइरहेको छ
अब खुलेर संगीतमय हाम्रा आवाजहरु कहिले अगाडि आउँछ
तपाईं हामी नै सुस्ताए पछि
तपाईं हामीले नै सिकारीलाई चाल दिए पछि
अब यी संगीतमय स्वरहरु मिलेर
संगीतमय चेतना हाम्रो कहिले खुल्छ कहिले?
नेपाली हामी अनेकथरिका हाम्रो परिचय
वीर गोर्खालीका सन्तान
पराक्रमी र वीर बहादुर हाम्रो नासो छ
जे जसरी भए पनि हामी नेपाली
जहाँ बसे पनि हामी नेपाली
त्यसैले नेपाल हाम्रो देश
कोही मधेशी कोही पहाडी कोही हिमाली
जता रहे पनि नेपाल हाम्रो साझा घर
नेपाली माटो हामी सबैको भर
त्यसैले अब सबै मिली उठौं गाउँ नगर बस्तीबाट
हाम्रो ढोकाको रक्षाको निम्ति तैनाथ हौं हिजो अस्तिदेखि
अब कोही नसुस्ताउ सबै सर्वहारा जनता
देशको राजनेता देखि किसान मजदुर सबै हामी एकै जनार्दन
मिलाऊ तन मन धन र वचन देखि
हामी हाम्रो घरको रक्षा निम्ति
पूर्व पश्चिम उत्तर दक्षिण जहाँ जता जसरी रहे पनि
नेपाल हाम्रो साझा घरको निम्ति
उठौं सबै मिली।
ठेगाना: महाकुलुङ ५,चाचालुङ सोलुखुम्बु १ नं: प्रदेश
अञ्चल:सगरमाथा,नेपाल ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१९ मंसिर २०८२, शुक्रबार 









