कविः हेमन्त शिशिर

आकाशबाट एक-एक गरि झरे ताराहरू
धर्तीमा पोखिए र त्यसपछि
सहरभरि बत्तीको मूल फूट्यो मान्छेहरूले बल्ल
अक्षर बोल्न सिके
एउटा बाटोले छाडिदियो अलिकति खुट्टालाई टेक्नेठाउँ
त्यसपछि बल्ल खुट्टाहरूले हिड्न सिके
र खुट्टहरू जुलुस बने

पहाडले रोकिदियो प्रकाशका किरण हरूको यात्रा
बडो संघर्ष चल्यो पहाड र किरणहरूबीच
बाध्यताले हारे किरणहरू र थाकेर तल झरे पहाडको
छातीबाट
एकअर्कालाई अंकमाल गरे
त्यसपछि किरणहरू जुलुस बने
र त उज्यालो आयो

बडो तनाव -तनावका बाबजुद बियाँहरू रूख बने
ढुङ्गाहरू शालीग्राम बने
हावा बादल बन्यो
तर मान्छेहरू मान्छे बनेनन्
कोही मालिक बने कोही दास बने
एकातिर दबाउनेहरूको जुलुस्
अर्कातिर दबिएकाहरूको जुलुस्

आँखाहरूबाट झरे जसरी चेतना
अझै निस्कदैछन् ढोका – ढोकाबाट जुलुसहरू
हातमा बोकेरै एउटा रित्तो काँचको गिलास्
जहाँ भरिएको छैन झाँगड बस्तीमा उम्रेको उन्यूको
रक्सी
जहाँ खसेको छैन राउटे बस्तीमा लगाइएको पर्दाको
छायाँ
कुसुन्डाको घरजस्तो कुनै अँध्यारो गल्लीमा
मूर्छित छ अझै हिस्ट्रीया लागेको लोकतन्त्र

ए अझै जुलुसमा हिडिरहेकाहरू हो
“आइदेउँ
घुम्टो ओढाइदेउ ”
किनकि यो देशमा अचेल प्रजातन्त्र खुब लजाएको छ ।

अछाममा जन्मे हुर्केर कैलालीमा कविता सिकेका हेमन्त शिशिर विगत एक दशकदेखि कविता लेखिरहेका छन। नयाँ वर्षको सुरुमै किताब बजारमा ल्याउने तयारीमा छन् । नेपालमा कविताको अवस्था कस्तो छ भन्ने प्रश्नमा उनी भन्छन्- जति हुनुपर्ने थियो त्यति छैन। कविता गहन कुरा हो। सजिलै बुझ्न नसक्ने र चेतना को अभावले त्यति प्रभावकारी ढङ्गले अगाडि बढ्न सकेको छैन। कविता नै लेखेर जीवन चलाउन पनि गाह्रो छ भन्ने लाग्छ।म आख्यान लेखन तिर पनि केन्द्रित छु । आख्यान पाठकको लागि अन्य बिधा भन्दा सरल छ। सजिलोसँग बुझ्ने र लेखकले पनि आफूले चाहेको कुरा स्पष्ट पार्न सक्छ।आख्यान व्यवसायिक पनि छ।यसकारण लेखकहरु यतातिर तानिन्छन्।

जाजरकोटमा नयाँ बर्षको अवसरमा वृहत साहित्य उत्सव हुने भएको छ । जाजरकोटी साहित्यिक आवाजको आयोजनामा छेडागाड नगरपालिका मनघाटमा वैशाख १ गते साहित्य उत्सव हुने भएको छ।

“साहित्यको संरक्षण र सम्बर्द्धन हाम्रो अभियान, जोगाऔं, बचाऔं, बनाऔं, हाम्रो पहिचान’’ भन्ने मूल नाराका साथ हुन लागेको साहित्य उत्सवमा गजल महफिलमा क्षितिज समर्पण जाजरकोट, कृष्ण विरही अछाम, हरिश जोशी बझाङ्ग, दीर्घराज प्रीयसी कैलाली को वाचन रहनेछ।सोही उत्सवम मुक्तक मुसायरा पनि हुनेछ ।जस अन्तर्गत चन्द्रा चाँदनी कालिकोट, मनोज दाहाल ‘मनु’सल्यान ले मुक्तक बाचन गर्नेछन् ।यी दुबै कार्यक्रमको सहजीकरण चर्चित कवि, गजलकार बावु त्रिपाठीले गर्नेछन् ।

कार्यक्रममा साहित्यका विभिन्न क्षेत्रमा योगदान पुर्याउदै आएका श्रष्ठाहरुलाई सम्मान गरिनेछ । कवि,गजलकार- बाबू त्रीपाठी (काठमाडौँ), गजलकार विपिन सलामी (डोटी), कवि,गजलकार धिरेन अनुपम (सुर्खेत), कवि साहित्यकार पूर्ण समीर महातारा (जाजरकोट),साहित्यकार -ज्ञानेन्द्र बहादुर सिंह (जाजरकोट),साहित्यकार बिशाल चन्द जाजरकोटी (जाजरकोट) लाई सम्मान गरिनेछ।

कार्यक्रममा ‘विवश जिन्दगी’ मुक्तक संग्रहको विमोचन गरिनेछ।साहित्य उत्सवमा काठमाडौँ, सुर्खेत, दैलेख, बाँके, बर्दिया, सल्यान, रुकुम, कालिकोट,अछाम, लगायतका देशका विभिन्न जिल्लाहरुबाट साहित्यकारहरुको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष भावुक रिदमले जनाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतारालाई राखिएको छ।जाजरकोटि साहित्य समाजले थुप्रै उदाहरणीय कार्यक्रम गर्दै आएको छ भने। त्यहाँको नगरपालिकाले पनि साहित्यको निम्ति सहयोग गर्दै आएकोछ।साहित्य पोस्ट जाजरकोट साहित्य उत्सवलाई हार्दिक शुभकामना व्यक्त गर्दछ।