निर्दोष एनपी

पानीको बीउ

सातै समुन्द्र छाँने
हिमालयलाई जोतेँ

म्याराथनका अथक धावक
नदीहरूलाई रोक्दै सोधेँ

छहराबाट हामफाल्दै गरेका
बालकहरूको अपहरण गरेँ

बुद्धको प्रवचनमा लिप्त
तलाउहरूलाई जाँचे

अझै कुवाभित्र कैद
हजारौँ गाग्रीहरूको जमानत गरेँ

तेस्रो विश्वयुद्ध लडिरहेका
बादलहरूलाई हतकडी लगाएर
कठघरासम्म पुर्‍याएँ
अहँ भेटिदै भेटिएन

पानीको बीउ
उसले आँखामा राखेको रहेछ ।

 

पार्थक्य

सँगैको साथीले भन्यो
मेरो त पैसा हरायो
यही कोटको खल्तीमा राखेको थिएँ

मैले च्यात्तिएका
आफ्ना गोजीहरू छामेँ
मसँग छँदैथिए
मेरा दु:खहरू
अझै हराएका थिएनन् ।

गरिबीमा बाँचेका गरिबहरू

म र
म जस्ता
गरिब मर्दै गए
गरिबी आफैँ घट्दै गयो
सर्खार दङ्ग पर्‍यो

गरिबी निवारण कोषहरू खारेज भए
र गरिबी निवारण मन्त्रालयहरू विघटन्
अहो कर्मचारीहरू बेरोजगार भए
र उत्रिए सडकमा
म र म जस्ता मृत गरिबहरूका बिरुद्ध
लगाए बुलन्द नाराहरू
किन मरेउ
कसले मर भन्यो तिमीहरूलाई
गरिबी छ भन्दैमा
कहाँ मर्न पाइन्छ अर्काको जागिर खोसेर
थाहा छ अब हामी बेरोजगार भयौँ

पूनः गरिबी बढ्यो
र यसपालि खोलियो समृद्धिका लागि
सापेक्ष गरिबी निवारण मन्त्रालय
सापेक्ष गरिबी निवारण कोष

रङ्गको शत्रु रङ

तप्प तप्प
पैतालाहरूमा
रंग चुहिँन थालेपछि
पोतिएको हो मेरो शिरमा
त्यही जातको अर्को रंग

ले खोसेको हो
मसँग भएको आफ्नै रंग
बालापनको उत्साह उमङ्ग

ध.उप.मपा. १३ राजपुर, कैलाली