आयुष बस्नेत

जब बृद्ध बुढो झै दिन ढलेर
भू मण्डलमा सन्ध्या छाउन थाल्छ
तब आकाशका अनगिन्ती ताराहरु
एकसाथ पिलपिल पिलपिल गर्न थाल्छन्
जब बाटा छेउमा झ्याँउकिरी र किटहरु बसेर
एकसाथ दोहोरी भाकाहरु भर्न थाल्छन्
तब तिम्रा यादका प्रतिबिम्बहरु
मानसपटलभरी चलबलाउन थाल्छन्

तिम्रो अनि मेरो बालापन सँगै बितीरहँदा
तिमी अनि म भएर खेलेका
आँखा छोपीका प्रत्येक क्षणहरु
चोर अनि पुलिस बनी खेलेका
प्रत्येक निमेशहरु
लुकी डुम खेल्दा तिमीले मारेका
प्रत्येक ढ्यापहरु
उसैगरी सम्झिरहन्छु म हर साँझ
जसरी सम्झिरहन्थ्यौ तिमी
पहिलो पटक सिकेको गीत
उसैगरी बिर्सन सक्दिन म हर साँझ
जसरी बिर्सन सक्दैनौ तिमी हाम्रो त्यो पहिलो चुम्बन्

जब सन्ध्या छिप्पिँदै छिप्पिँदै रातमा ढल्दै जान्छ
तब स्मरणका अनगिन्ती भाइरसहरुले
मलाई पनि गलाउदै लैजान्छ
परको तिम्रो आकृति मन्द मुस्कान छर्दै
नजिक नजिक आउँछ
टक्क अडिएर नयनको पर्दा खोलेझैं गरेपछि
कोमल हातहरुले मलाई नै बोलाए झैं गर्छ
अनि म पागल
तिमीलाई स्पर्श गर्न आतुरिन्छु
अँगालो हालेर भक्कानिन खोज्छु
तर बिडम्बना
तिमी हावा झै शुन्यमा बिलाई जान्छौ
अनि तिम्रा प्रतिबिम्ब पनि उसैगरी बिलाई जान्छन्
हजारौं मानिसहरुको भीडले
एकै साथ मलाई गिज्याइरहेझैं महसुस गर्छु
अनि रित्तो हात बिस्तरामा पल्टिन्छु
जसरी पल्टिन्छ टाउको छिनालिएको गिंड

प्रशव पिडाको झैं रातको प्रत्येक बेचैनीलाई चिरेपछि
रातले क्रमश स्वर्णिम बिहानीको मिठो स्पर्श पाउँछ
हर कुराले अर्कै नवीन दिनको आभाष पाउछ
तर
लगाई पाउँदैन टुक्रिएको मेरो मुटुले मल्हम पट्टि
पाउँदैन यादले तिर्खाएको मेरो मनले
तिम्रो सामिप्यताको चिसो जल
त्यसैले त लागिरहन्छ नि मलाई
यो हर साँझ मेरो लागि आएकै हैन
निस्पट्ट रात पछिका प्रत्येक दिन
मेरा लागि छाएकै हैन

सधै झैं फेरि उसै गरी क्षितिजमा
सूर्य बिलिन हुन तरखर गर्छ
जूनसँगै लाखौं ताराहरु पनि पिलिपिलाउन थाल्छन्
तब आफूलाई क्षितिजमा डुबिजाने घामसँग दाँज्न थाल्छु
आफूलाई निरीह र कमजोर महसुस गर्न थाल्छु
त्यसैले मेरा
जून जस्तै उदाउने जीन्दगीका रहरहरु
पानिका फोका झैं फुटेर कतै बिलाई जान्छ
अनि म
आफूलाई मृत्यु शैयामा छट्पटाइरहेको
कुनै बृद्ध बूढो झैं छट्पटिएको भेट्टाउँछु

यसरी प्रत्येक साँझहरु
म तिम्रा यादहरुबाट
कुनै बलात्कृत युवती झै बलात्कृत भइरहेछु
प्रत्येक रात
तिम्रा यादका तलाउमा डुबिरहेछु
तिमीसँग गरेका बाचाका जन्जिरमा
उम्कनै नसकिने गरी अल्झिरहेछु
त्यसैले प्रिय
अब तिमी नै आइदेउ र मुक्त पारीदेउ मलाई
यी सबै बन्धन र जन्जिरहरुबाट
अनि स्वतन्त्र पारीदेउ मलाई
सदा सदाको लागि
नत्र भने भनिदेउ
कतिञ्जेल भोग्न पर्ने हो मैले
यस्ता कहाली लाग्दा रातहरु
कतिञ्जेल सहिरहन पर्ने हो मैले
टुक्रिएको मनको असह्य पीडा
अनि
कहाँ सम्म डोहोर्याई रहन पर्ने हो
जन्जिरै जन्जिरमा अल्झिएको एक मुठ्ठी सास ।

बकैया-७, मकवानपुर