सुनिता राई कन्दङ्वा

युद्धको परिभाषा के हो
बुझ्न बाँकी
ती अबोध बालबालिकाहरुका आँखा
प्रश्न गरिरहेछन् आमासँग
युद्ध भनेको मुटुभरी त्रास रहेछ
युद्ध भनेको ज्यान जोगाउन भाग्नु रहेछ
युद्ध भनेको माटो र देश छोड्नु रहेछ
युद्ध भनेको भोक प्यासै शरणार्थी बन्नु रहेछ
युद्ध भनेको टुहुरो हुनु रहेछ
अनि यो युद्धले
अरु के के देखाउँछ आमा

युद्ध साँच्चै केका लागि भैरहेछ
कस्को स्वार्थ पूर्ति हुँदैछ यसबाट
लाखौँ बृद्धा र बच्चाहरुका अश्रु टेकेर
लाखौँ जवानहरुको रगत बलि चढाएर
कस्तो इतिहास कोर्न खोज्दैछन्
मानव सभ्यताकै
सभ्य यी मुर्खहरु

अमेजन हुँदै सुसेल्ने बतास
अचेल सतर्क बहन्छ
रगत र बारुद मिसिएका
गह्रुङ्गो समाचारहरु बोकी
असिनपसिन निस्सासिँदो छ
विश्व ब्रेकिङ् न्युज
मानव तस्करीहरु मौलाइरहेछन्
ईश्वर स्वरूप दानवहरु सलबलाएका छन्
किशोरीहरु वेश्यालय पुर्याईदैछ
कैयौँ
बाध्यतामा परेकाहरु लुटिदैछन्
एउटी बेवस आमा
आफ्ना कलिलो बच्चाको शरीरमा
परिचयको चिन्ह ट्याटु खोपाउँदै छिन्
कथंकदाचित बिछोडिन पुगे
कथंकदाचित बाँच्न सफल भए
जोड्नेछ तिनै निसानीले
मातृभूमि र बाँचेकाहरुसँग

हिजोआज
साँच्चै डरलाग्छ
अखबार उठाउँन
कतै आलो रगतका छिटा पो छन् कि
सर्वत्र खबर
अशान्ति असुरक्षा र युद्धको छ
अनगिन्ति घाउहरु छोपी म्यान्मा
आँसु खसाल्न छाडेको छ
श्रीलंकालीहरु
भोकसँग लडिरहेछन्
हामी यी सबैखाले रापको धङ्धङ्कीले
सख्त घाइते बनेका छौं
कसलाई पुकार्नु र यो घडी
ईश्वरको मृत्युघोषणा त उहिले नै नित्सेले गरिसके

यसैले आज
यी मान्छे जस्तै लाग्ने मान्छेहरु
मुटुबिहिन छन्
संवेदनाहीन बाँचीरहेछन्
आउ
उन्नतिको उपल्लोफेर समाएर
उभिएका यी अर्धचेतहरुलाई
सल्यक्रिया गरिदिउँ

प्रत्यारोपण गरौं
अलिकति मानवीय संवेदना
प्रेम, सद्भाव र भाइचारा
फेरीदिउँ
मुटुकलेजो
कुनै वफादार जनावरको
तब
दुख्छन् कि
महसुस गर्छन् कि
मनन् गर्छन् कि
युद्धले दिने दर्दनाक पीडा
अब इतिहास
रगत लतपतिएको बारुदले होइन
बल्कि
शान्तिले लेखिनु पर्छ

त्रसित थकित
दिशाहीन पैतालाहरु
यतिबेला चुपचाप
सोधीरहेछन्
अब हामी कता जाने आमा !