दिपा मेवाहाङ राई

जीवनको लय गाउँदा गाउँदै
बैंशको मध्यभागमा आइपुग्दा
फूल फुलेको मन पर्नै छोड्यो
मन भित्र भय पस्यो गोधुलीको घाम देखेर
बाटोहरुले आफ्नै गतिमा तान्न थाल्यो
सपनाको भुमरीले अठ्याँएर
ल्याइपुरायो अर्कै भूगोलमा

सपनाको आकार कस्तो हुन्छ
सपनाको धुन कस्तो हुन्छ
सपनाको रंग कस्तो हुन्छ
अनेकौ कौतुहलता बोकेर मस्तिष्क भरी
सपनाको आकार खोज्दै
सपनाको धुन खोज्दै
सपनाको रंग खोज्दै
भौतारीरहेछ यो अँध्यारो सहरको गल्लीमा

कहिलेकाहीं बिपनामै निमोठिदिन्छ सपनाले घाँटी
आत्मविश्वासको धरहरा ढलिदिन्छ ग्वाम्लङ्गै आफ्नै अघि
निसासिन्छ आफै भित्र भित्रै
खोज्छ बाहिर निस्किने ढोकाहरु
अहँ भेट्दैन ढोकाहरु
र आफै बनाउन खोज्छ आफ्नो सपनाको बाटो
भासिन्छ दलदलमा
हराउँछ आफू आफै भित्र
र तयार हुन्छ जिन्दगीको म्याराथुन दौडिन

आखिर कहिले सम्म
मृत्युको चप्पल लगाएर हिँड्नु पर्ने
रहरहरुको क्षेत्रफललाई कहिले सम्म खुम्च्या  राख्नु पर्ने
यादहरुको सिरानी लगाएर कहिले सम्म निदाउनु पर्ने
सोच्छु कहिले काहीं मौन भएर
त्यही बेला मौनताको चर्को आवाज
गुन्जिदिन्छ कान नजिकै

आखिर सपना देख्नु भनेको
एक सिढीं चढ्नु जतिको सजिलो होइन रहेछ
हजारौं सिढींको बगलमा छिर्नु रहेछ

झापा
हाल- दक्षिण कोरिया