बजेटको भारी बोकेर
उकालो चढ्दाचढ्दै
खुट्टामा कैँडा लागेपछि
खुट्टा तन्काएको हुँ
कहिल्यै नखुम्चने गरी
अगेनोमा ढुंगा पोलिरहेकी श्रीमती
ढुंगा पाक्ला र खाउँला भनेर
कुरिरहेका छोराछोरी
अनि
छिमेकीको लागि बोकेको
आफूभन्दा बढी तौलको
बजेटको भारी सम्झिएपछि
सुस्केरा हाल्दै आँखा चिम्लिएको हुँ
कहिल्यै नखुल्ने गरी
हावाजस्तै बगेको जिन्दगी
एक मिटरको दुरीमा बाँधिएपछि
सुकेको पेट पनि फुकेको हो
त्यही हावा भरिएर
कहिल्यै नहट्ने गरी
ओथारो बसेको गरिबीलाई
बजेटको भारी बोकेर
धकेल्दाधकेल्दै
थकित बनेको
अनिदो जिन्दगीमा
अलिकति विश्राम खोज्दै पसारिएको हुँ
कहिल्यै नउठ्ने गरी।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला