सुवाश उपाध्याय

कहिले निहुरिएर सम्मान् गर्छ
कहिले छाती फुलाउँदै अभिमान् गर्छ
भेडा हुन् त एस्तो भन्छ
घाँस रित्तिन्छ  डोकोभरि घाँस हालिदिन्छ
फोहोर थुप्रिन्छ  मलखातमा फालिदिन्छ
सुरुसुरुमा एस्तै हो
भेडाहरूलाई सस्तै हो मस्तै हो
सोच्दा हुन्  हामीलाई त यै नै चाहिन्छ
बरु यसैपछि लाइन्छ
एस्तो गोठालो कहाँ पाइन्छ

यसरी नाँच्नुपर्छ है भेडा हो भन्दै
कतिखेर आफैँ खुट्टो उचालेर नाचिदिन्छ गोठालो
ननाचेसम्म घाँस पाउँदैनस्  भन्दै
कतिखेर अरूलाई नचाइदिन्छ गोठालो

भन्छ भेडा भएसी भ्याँ भ्याँ गर्नुपर्छ
बोल्दै नबोल्ने हो भने कसरी कोट्याउने
को भेडा को गोठालो कसरी छुट्ट्याउने
किनकि गोठालो चाहिँदा मात्र बोल्नुपर्छ

मख्ख परेका भेडाहरू
कोही रहरले कोही बाध्यताले
नाचिरहन्छन्  घाँस खाइरहन्छन्
देखेका छैनन्
उनीहरूकै शरीर नाङ्गो पारेर
लगाएको छ गोठालोले ऊनको स्वेटर
बुझेका छैनन्
उसले तानाशाही सामन्तवादको लौरी
छाडेर किन बोक्यो बाँसुरी

त्यसैले
फरकफरक परिचय र अनुहार बोकेर
आफ्नोपछि भेडाहरूको ताँती देखेर
एकोहोरो मुस्कुराइरहेछ

हामी पो सुन्दैनौ
वर्षौँदेखि हाम्रै अगाडि
निरो बाँसुरी बजाइरहेछ ।

  सियारी गाउँपालिका ६,रुपन्देही, लुम्बिनी प्रदेश