राधिका कल्पित

ईश्वरको पटाङ्गिनीमा
ईश्वरकै एउटा सन्तानले
बालेर पालामा जोर बत्ति
ढोग्दै बिघ्नहर्ता विनायक
पाउमा पर्दै पुकारिन्

`हे प्रभु यात्रा सफल होस्´

त्यहीं पटाङ्गिनीको अर्को खन्डमा
ईश्वरकै अर्को सन्तानले
जाँचेर तार र बारुद्ध
हेरेर घडी बोलेर सांकेतिक भाषा
चुम्दै एम्बुसको तार बोल्यो

`हे प्रभु काम सफल होस्´

भयानक विष्फोट पछि भिडको माझबाट
ईश्वरको तेस्रो सन्तान बोल्यो
अहो कस्तो कुसाइतको यात्रा भएछ
सबको ज्यान गयो

त्यहीं भीड बिचबाट ईश्वरकै चौथो सन्तान बोल्यो
आहा कस्तो साइतमा योजना बनेछ
काम फत्ते भयो

म सोचिरहेछु
ईश्वरको अदालतमा अब
कस्तो निसाफ होला ?