रवीन्द्र केसी

कहीँ यस्तो नहोस्
कि तिम्रा खुसीका बिहानीहरू
जीवनमा कहिले आउन नपाऊन्
अनि
मेरो रहरका फूलहरू कहिल्यै फुल्न नसकून् ।

कहीँ यस्तो नहोस्
शाश्वत रङहरूमा सजिन नपाऊन् सपनाहरू
स्वप्निल क्षितिजमा हाँस्नै नपाऊन् मनका चाहनाहरू
यस्तो नहोस्‑
तिम्रो रुप र कोमलता कुनै ऐय्यासीको भेट चढोस्
खेलेर तिम्रो अस्मितासँग कसैले जीवन लुट्न सकोस्
कहीँ यस्तो पनि नहोस्
अतिवादी भाष्यहरूमा तिम्रा चेतनाहरू पनि भ्रमित होऊन्
मायाको कसुरमा निर्दोष प्रेमीले कतै शूली चढ्न परोस् ।
यस्तो नहोस्‑
युगको दृष्टि यतिसम्म धमिलो पारियोस्
कि हरेक नारी र पुरुष
केवल रावण र सीताहरूजस्ता मात्र देखिऊन् ।

दीक्षा हाम्रो यस्तो नहोस्
स्निग्ध कञ्चन प्रेमिल मनमा तिरस्कार मात्रै जन्मियोस्
विश्वास नपलाओस् मुटुमा घृणाको गहिरो खाडल खनियोस्
बरु यस्तो होस्
प्राकृतिक रङमा रमाउन पाऊन् मायालु मनहरू
अनन्तसम्म गुञ्जिन सकून् प्रेमका मधुर धुनहरू
यस्तो होस् संसार, जहाँ
उज्यालो सपना र चम्किलो खुसी होस्
अन्धविश्वास कतै नहोस् अझै सुन्दर कानुन होस्
हो, अबको संसार यस्तो होस्
तिमी र म, म र तिमीमा कुनै अन्तर नहोस्
विभेद, शोषण र पूर्वाग्रहको कतै गुञ्यायसै नहोस् ।